
दुईजना अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) मा एक पक्षले अर्कोलाई कारबाही गर्ने होडबाजी चलेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले शनिबार कार्यकारिणी समितिको बैठक राखेर अर्का अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोसहित चारजनालाई कारबाहीको निर्णय गरेको थियो।
त्यसको भोलिपल्ट आइतबार ठाकुर पक्षले यादव समूहका १२ जना सांसदलाई कारबाहीको निर्णय गरेको छ। यो कारबाहीमा यादव पनि परेका छन्। कारबाहीलाई वैधता दिलाउन एकले अर्को पक्षका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका छन्।
एक पक्षले गरेको निर्णयलाई अर्को पक्षले वैध नभएको दाबी गर्दै अस्वीकार गरेको छ। एक पक्षले अर्कोलाई कारबाही गर्ने प्रक्रिया सुरु भएसँगै जसपाभित्रको विवाद उत्कर्षमा पुग्दै विभाजनउन्मुख देखिएको छ। नागरिक दैनिकमा खबर छ ।