
प्रशान्त महासागरमा रहेको मुलुक सामोआ पहिलोपटक महिला प्रधानमन्त्री निर्वाचित भएकोमा त्यहाँको पितृसत्तावादी बहालवाला सरकारले त्यसलाई पचाउन सकेको छैन ।
फियामे नाओमी माताफाको सरकारले सोमवार शपथग्रहण गर्न खोजेकोमा बहालवाला कामचलाउ सरकारले संसद् आह्वान गर्न अस्वीकार गर्दै शक्ति हस्तान्तरणमा बाधा गरेको छ । प्रधानमन्त्रीमा निर्वाचित माताफा तथा उनका समर्थकहरूलाई संसद् भवनबाहिरै रोकिएको छ ।
एक महिनाअघि भएको निर्वाचनमा माताफाको फास्ट नामक पार्टीले बहालवाला ह्युमन राइट्स प्रोटेक्सन पार्टी (एचआरपीपी) लाई झिनो अन्तरले हराएको थियो ।
मतपरिणाममा असन्तुष्टि जनाउँदै एचआरपीपीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोमा अदालतले माताफाको विजयलाई पुष्टि गर्दै उनी नै प्रधानमन्त्री बन्ने बाटो खुलाएको थियो ।
खासमा एचआरपीपी र फास्ट दुवैले २५–२५ सीट जितेका थिए तर एक स्वतन्त्र सांसदले फास्टको पक्षमा मत दिएका थिए ।
तुइलाएपा साइलेले मालीलेगाओइले विगत २२ वर्षदेखि शासन चलाउँदै आएकोमा माताफाले यसपालि विजय हासिल गरेकी हुन् । पोहोर साल मात्र उनले एचआरपीपी दल छोडेर फास्ट नामक नयाँ दल खोलेकी हुन् ।