
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण रोकथामविरुद्धको खोप निकट भविष्यमै लगाउने तयारी थालिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार त्यसका लागि बिभिन्न राष्ट्रलाई पत्राचार गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृृदेश त्रिपाठीका अनुसार खोप खरिदका लागि संयुक्त राज्य अमेरिका, बेलायत, रुस, भारत, चीन, नर्वे सरकारसँग खोप खरिदका लागि सहजीकरण गर्न अनुरोध गरिएको छ । उनले युरोपियन युनियनको स्टोरमा रहेका खोपलाई प्राप्त गर्नका लागि संवाद अघि बढाइएको बताए । स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘ती देश खोप उपलब्ध गराउन सकारात्मक देखिएका छन्, हामी प्रयासरत छौं ।’
अन्तर्राष्ट्रिय बजारमा कोभिडविरुद्धको खोप सहज नभएको अवस्थामा स्वास्थ्य मन्त्रालयबाट खोप प्राप्तिका लागि पहल भइरहेको उनले बताए । स्वास्थ्यमन्त्री त्रिपाठीले खोप उत्पादक राष्ट्रलाई खोप उपलब्धताको आवश्यक सहजीकरण गरिदिन उच्चस्तरीय पहल भइसकेको जनाए । न्यूनतम ५० लाख डोज खरिद गर्न तयार रहेको भन्दै सम्बन्धित देशका स्वास्थ्यमन्त्रीलाई समेत पत्राचार गरीएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले खोप खरिदका लागि तीन कम्पनीलाई आयात अनुमति दिएको छ ।
यस्तै, सरकारले कोरोनाविरुद्धको खोप समयमै ल्याउन नसकेपछि दोस्रो मात्राको खोप ल्याउने समय थप गर्ने तयारी थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि भारतमा बनेको कोभिसिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ साताभित्र दोस्रो डोज लगाउनुपर्ने भनेको थियो । अब दोस्रो डोज खोप १६ सातापछि लगाउने गरी अवधि तोक्ने तयारी भएको छ । राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् ।