
प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको विघटन पछिको परिस्थितिबारे पूर्व सभामुखहरूसँग परामर्श गर्ने भएका छन् ।
दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा पूर्व सभामुखहरूसँगको छलफल कार्यक्रम राखिएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
‘पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न लाग्नु भएको हो,’ न्यौपानेले लोकान्तरसँग भने ।
प्रतिनिधि सभाका पूर्व सभामुखहरू दमननाथ ढुंगाना, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती र कृष्णबहादुर महरालाई बोलाइएको छ ।
सरकारको सिफारिशमा राष्टपति विद्या भण्डारीले शुक्रवार मध्यरातमा प्रतिनिधि सभाको विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेकी थिइन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध बहुमत सदस्यले सोमवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।