
साउदी अरबमा रहेको मुसलमानहरूको पवित्र तीर्थस्थल मक्कामा गत शुक्रवार एक इमाममाथि आक्रमणको प्रयास गरिएको विषयमा साउदी अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् ।
मक्कामा जुम्माको नमाजका दिन एक व्यक्ति अचानक इमाम बसेको मञ्चतिर दौडिएको थियो ।
घटनाको दृश्य लाइभ टीभीमा प्रसारण गरिएको थियो ।
त्यहाँ उपस्थित सुरक्षाकर्मीले उक्त व्यक्तिलाई समातेर तल खसाएका थिए ।
आक्रमणकारी साउदी नागरिक भएको र उसले आफूलाई इमाम महदी भएको दाबी गरेको अरब न्युजले खबर दिएको छ ।
उक्त व्यक्तिको मानसिक स्थिति पत्ता लगाउनका लागि स्वास्थ्य जाँच गरिएको बताइएको छ ।
इस्लाममा इमाम महदीको अवधारणा मुख्य रूपमा शिया सम्प्रदायको एक महत्त्वपूर्ण अंग हो । तर कतिपय सुन्नी मुसलमान पनि यसमा विश्वास गर्छन् ।
शियाहरू पहिलो इमाम हजरत अलीलाई मान्छन् र अन्तिम अर्थात् १२औं इमाम महदी हुन् ।
अरबीमा महदीको अर्थ हुन्छ : त्यो कुरा जसलाई सही सम्झाइएको छ ।
इमाम महदीमा आस्था राख्नेहरूले कयामत अर्थात् संसारको अन्त्य हुने समयमा इमाम महदी आएर न्याय तथा शान्ति फैलाउने विश्वास गर्छन् ।
विगत कैयौं शताब्दीदेखि कैयौं मानिसले आफूलाई महदी घोषित गर्दै मुस्लिम जगतलाई नयाँ जिन्दगी दिन आएको बताउने गरेका छन् । तर सुन्नी सम्प्रदायका अधिकांश मानिसले उनीहरूलाई स्वीकार गरेनन् ।
कतिपय रूढिवादी सुन्नी मुसलमान महदीको अवधारणा पवित्र कुरान र सुन्नामा उल्लेख नभएको बताउँछन् ।