०४ असार २०८३, बिहीबार

तिलोत्तमाको मणिग्राम चोकमा ‘ट्राफिक लाइट’ जडान

तिलोत्तमाको मणिग्राम चोकमा ‘ट्राफिक लाइट’ जडान

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले सिक्सलेन सडकको मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरेको छ ।

मणिग्राममा जडान गरिएको ट्राफिक लाइट लुम्बिनी प्रदेशकै पहिलो रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विश्वकर्माले जानकारी दिए । 

नगरकै सबैभन्दा बढी सवारी आवागमन हुने मणिग्राम चोकमा नगरपालिकाले आफ्नै स्रोतमा ट्राफिक लाइट व्यवस्थापन गरेको हो ।

ट्राफिक लाइटको कन्ट्रोल मंगलापुरमा रहेको ट्राफिक प्रहरी पोस्टबाट हुने नगरपालिकाले जनाएको छ । 

ट्राफिक लाइटको मंगलवार शुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले मणिग्राममा जडान गरिएको ट्राफिक लाइटको प्रभावकारितासँगै यसलाई सिक्सलेन सडकका अन्य चोकहरूमा समेत विस्तार गरिने बताए । ट्राफिक लाइटको कन्ट्रोलका लागि चाहिने उपकरण व्यवस्थापनमा ट्राफिक प्रहरीलाई नगरपालिकाले सहयोग गर्ने स्पष्ट पार्दै उनले ट्राफिक लाइटको परिपालना, यसको संरक्षण गर्ने दायित्व हामी सबैको रहेको बताए । 

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बरबहादुर विश्वकर्माले तिलोत्तमाले आफ्नै स्रोतमा ट्राफिक लाइटको व्यवस्थापन गर्नु अरुको लागि पनि अनुकरणीय रहेको बताए । ट्राफिक प्रहरीसँगको समन्वयमा ट्राफिक लाइट जडान गरेर तिलोत्तमाले प्रदेशमै नयाँ सन्देश दिएको बताउँदै उनले यो दुर्घटना न्यूनीकरणको लागि कोशेढुंगा हुने विश्वास व्यक्त गरे । 

प्रदेश ट्राफिक प्रहरीले बुटवल–भैरहवा सिक्सलेन सडकलाई अन्तर्राष्ट्रिय ट्राफिक नियमको परिपालना गर्ने/गराउने सडकको रूपमा लिएको बताउँदै उनले ट्राफिक लाइट व्यवस्थापनले त्यसलाई सहज गराउने स्पष्ट पारे । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले ट्राफिक लाइट सडक विकासको एउटा सूचक रहेको चर्चा गर्दै यसले ट्राफिक व्यवस्थापनमा टेवा पुर्‍याउने बताए । ट्राफिक लाइटको नियम परिपालना गराउन केही समय लाग्ने भए पनि यसमा सडक प्रयोगकर्ता अभ्यस्त भएपछि ट्राफिक व्यवस्थापनमा प्रहरीलाई यसलाई सहयोग पुर्‍याउने उनको भनाइ छ ।

नगर उपप्रमुख जागेश्वरी चौधरीले प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, प्रवक्ता सुरेन्द्र श्री, योजना प्रमुख प्रदीप वन लगायतले ट्राफिक लाइटको औचित्य र सडक अनुशासनबारे धारणा राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्