मलेसियामा वैज्ञानिकहरूले नयाँ कोरोनाभाइरस पत्ता लगाएका छन् ।
यो भाइरस कुकुरहरूमा उत्पन्न भएको र यसको चपेटामा केही मानिस समेत परेको मानिएको छ ।
वैज्ञानिकहरूका अनुसार, यसको पुष्टि हुन सक्यो भने पशुबाट मानिसमा आइपुगेको यो आठौं भाइरस हुनेछ ।
यसरी नयाँ नयाँ कोरोनाभाइरस आइरहँदा वैज्ञानिकहरूका लागि चुनौती तेर्सिएको छ ।
लगभग २० वर्षदेखि भाइरसमा काम गरेका महामारी विशेषज्ञ डा ग्रेगोरी ग्रेले आफ्ना एक विद्यार्थीसँग मिलेर कोरोनाभाइरसका अन्य प्रकारको खोजी गरिरहेका छन् । उनले बनाएको एक संयन्त्रबाट विगत कैयौं वर्षमा फेला परेका स्याम्पलको अनुसन्धान गर्दा कुकुरसँगको सम्भावित सम्बन्धको खुलासा भयो ।
मलेसियाको सारावाकमा रहेको एक अस्पतालमा भर्ना भएका रोगीमा यी स्याम्पल फेला परे । ती मानिसलाई सन् २०१७ र २०१८ मा निमोनियाको जस्तो लक्षण देखिएको थियो ।
ग्रेगोरी र उनको टोलीले यसको पुष्टि गर्नका लागि अमेरिकाको ओहायो स्टेट विश्वविद्यालयकी चर्चित भाइरोलोजिस्ट अनास्तासिया भ्लासोभालाई स्याम्पल पठाए ।
कुकुरबाट कोरोनाभाइरस मानिसमा प्रवेश गर्ने विषयमा यसअघि थाहा नभएको बताइन् । यो कोरोनाभाइरसको जिनोम अध्ययन गर्दा ग्रेगोरीको टोलीको निष्कर्षसँग उनी सहमत भइन् ।
जिनोमको अधिकांश भाग कुकुरको कोरोनाभाइरस हो ।
ग्रेगोरीका अनुसार, मलेसियामा कुकुरबाट फैलिएको कोरोनाभाइरसका सबै रोगी ठीक भइसकेका छन् र मानिसबाट मानिसमा यो भाइरस सरेको कुनै केस छैन । त्यसैले कुकुरबाट आएको कोरोनाभाइरसबाट महामारी फैलिने कुनै खतरा छैन ।