
चीनका दुई बेग्लाबेग्लै चिडियाखानाहरूमा बाघहरूले दुईजना कर्मचारीलाई मारेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
पहिलो घटना आइतवार भएको थियो । आन्हुई प्रान्तमा बाघको खोर सफा गर्दै गर्दा ५५ वर्षीय कर्मचारी याङलाई बाघले आक्रमण गरेको थियो ।
चाङगोङशान चिडियाखानामा याङ विगत दुई दशकदेखि कार्यरत थिए ।
मंगलवार हेनान प्रान्तको चिडियाखानामा जिया नामक कर्मचारीलाई दुईवटा बाघले आक्रमण गरेर खोरबाट भागेपछि प्रहरीले तिनीहरूमाथि गोली प्रहार गरेको थियो । जियाको मृत्यु अस्पतालमा भएको थियो ।
ती दुई बाघलाई बेहोश बनाउने वा जालोमा पार्ने प्रयास विफल भएको थियो । उनीहरू घना जंगलमा प्रवेश गरेर स्थानीय बासिन्दालाई हानि गर्लान् भनी प्रहरीले गोली हान्ने निर्णय लिएको थियो ।