
नेपालका राजनीतिक दलका नेताहरूले कोरोना संक्रमणविरुद्धको लडाईंमा चीनले गरेको स्वास्थ्य सामग्री सहयोगप्रति आभार व्यक्त गरेका छन् ।
उनीहरूले चीनबाट थप खोपको अपेक्षा राखेको पनि बताएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागले गरेको अनलाइन मीटिङमा नेपालका नेताहरूले कोरोना महामारीविरुद्धको लडाईंमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै अझै सहयोग हुने विश्वास व्यक्त गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कोरोना महामारीको अवस्था भयावह भएको, संक्रमण उच्च बिन्दुमा पुगेका र मृत्युदर पनि बढिरहेको समयमा चीनबाट उपलब्ध भएको मानवीय सहयोगका लागि धन्यवाद दिए ।
प्रचण्डले कोरोनाको प्रभावकारी नियन्त्रण र अर्थतन्त्रको रिकभरीमा सफल भएकोमा चीनलाई बधाई दिए । उनले चीनबाट कोरोनाविरुद्धको थप भ्याक्सिनको अपेक्षा नेपालले गरेको बताए ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले लाइफ सेभिङ इक्युपमेन्ट सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिए । पोखरेलले चीन सरकारले गरेको कोरोना नियन्त्रण विश्वका लागि उदाहरण भएको उल्लेख गरे ।
चीन सरकारबाट उपलव्ध भएको अक्सिजन प्लान्ट, सिलिन्डर र अन्य स्वास्थ्य उपकरणका लागि सरकारको तर्फबाट आभार व्यक्त गरे ।
नेपाली कांग्रेसका नेता नारायण खड्काले कोरोनाको दोस्रो वेभका कारण नेपालमा महामारी उच्च बिन्दुमा पुगेको बताए ।
भाइटल मेडिकल सप्लाइ नहुँदा मृतकको संक्रमण बढिरहेको समयमा चीनले गरेको सहयोग प्रशंसनीय भएको उनले बताए ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे, राप्रपा अध्यक्ष पशुपति शमशेर राणा लगायतले महामारीको समयमा नेपालप्रति चीनले गरेको सहयोगको प्रशंशा गरेका थिए ।