
डोटी, १९ जेठ - बिना इजाजत नेपाल प्रवेश गरेर नेपालीलाई अपहरण गर्न खोज्ने भारतीय प्रहरीको समुहलाई नेपाल प्रहरीले पक्राउ पछि कुनैपनि कारबाही नगरि छोडेको छ ।
दिपायल—सिलगढी नगरपालिका ८ लडागडाका लालबहादुर आउजीलाई बुधबार राति घरबाटै बन्धक बनाएर लाने क्रममा डोटी प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । तर शुक्रवार उनीहरुलाई कुनैपनि कारबाही बिना छोडिएको छ ।
भारतीय डिएसपी नागारा सहित ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । ती मध्ये दुई जना चाहिँ नेपाली थिए ।
प्रक्राउ परेका उनीहरुलाई प्रहरीले गोप्य रुपमा राखेको थियो । पत्रकारलाई समेत प्रहरीले यसबारेमा जानकारी दिएको थिएन ।
तर आज भारतीय प्रहरीको जिम्मामा उनीहरुलाई छोडिएको छ । सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रोमेन्द्र सिंह देउजाले उनीहरुलाई छोडिएको बताए । उनले उनीहरु इजाजत बिना नेपाल आएको भएपनि उनीहरुलाई भारतीय प्रहरीको जिम्मा लाग्ने गरि छोडेको बताए ।
उनीहरुलाई त्यो बाहेक गर्न मिल्ने अरु कानुनी आधार नभएकोले उनीहरुलाई छोडिएको उनले बताए । उनले दुई देशको सम्बन्धलाई समेत ध्यानमा राखेर उनीहरुलाई छोडेको बताए ।
सूचना विनानै नेपाल प्रवेश गरेकोमा उनीहरुले माफि मागिसकेको समेत प्रहरीले जनाएको छ ।