काठमाडौं, १९ जेठ –नाबालक परिचयपत्र बनाउने प्रयोजनमा २६ हजार रुपैयाँ घूस रकम लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान विभागले काठमाडौं जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा (नासु) लाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालयको नाबालक परिचय –पत्र शाखामा कार्यारत् नायव सुब्बा गोविन्द पुडासैनी र कार्यालयकै सेवा निवृत नायब सुब्बा मुक्तिनाथ दवाडीलाई घूस रकमसहित अख्तियारले शुक्रवार नियन्त्रणमा लिएको हो ।
नासुद्वय पुडासैनी र दवाडीले मिलोमतोमा सेवाग्राहीसँग नाबालक परिचय –पत्र बनाउने प्रयोजनका लागि विभिन्न बहानामा काम गर्न आलटाल गरी सेवाग्राहीसँग घूस माग गरेको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
नासु पुडासैनीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१० बमोजिमको कसूर गरेको पुष्टि हुन आएको भन्दै बिगो २५ हजार रुपैयाँ र सेवा निवृत नासु दवाडीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९२० बमोजिमको कसूर गरेको ठहर गर्दै २६ हजार रुपैयाँ बिगोसहित जरिवाना र कैद सजायका लागि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।