
पाल्पाका साहित्यकार, शिक्षासेवी एवं योगसाधक डिल्लीराम नेपालको निधन भएको छ ।
कोरोना संक्रमणका कारण शुक्रराज ट्रपिकल अस्पतालमा उपचार क्रममा ७५ वर्षको उमेरमा उनको आइतबार राति निधन भएको हो । २ साताअघि कोभिड–१९ पुष्टि भएकोमा आइसियुमा राखेर उपचार हुँदै आएको थियो ।
पाल्पा रिब्दीकोट–७ (साविक पालुङ मैनादी) निवासी नेपालका कविता कृति ‘युवालाई आह्वान’, लोकलयमा आधारित योगकाव्य ‘अष्टाङ्ग योग’, यात्रा संस्मरण ‘रमाइलो यात्रा क्यानडाको’, योग विधिसम्बन्धी ‘योगको प्रवेशद्वार’ प्रकाशित छन् । साथै आधा दर्जन कृति प्रकाशोन्मुख छन् ।
कान्ताश्रम पर्यटन प्रवद्र्धन समिति, पाल्पाका अध्यक्ष उनको गाउँमा बाटोघाटो, बिजुली, खानेपानी, मन्दिर, स्वास्थ्य चौकी, स्कुल निर्माणमा योगदान छ ।
करिब ३३ वर्ष निजामती सेवाका जागिरे उनी २०६५ मा लेखा अधिकृत पदबाट सेवानिवृत्त भएका थिए । निजामती प्रवेशअघि एक दशक शिक्षण सेवामा संलग्न थिए । तत्कालीन कालिका मावि मुझुङ, प्रभात मावि मैनादी र आदर्श मावि देउराली र कर्णाधार मावि रुप्सेमा पूर्व प्रध्यानाध्यापक थिए ।
भारतको जैन विश्व भारती विश्वविद्यालयबाट जीवन विज्ञान, प्रेक्षाध्यान एवं योग विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरेका उनी गोरखपुर स्कूल अफ नेचुरल थेरापी कलेजबाट तालिम लिइ डाक्टर इन नेचुरोपेथी (एनडी) उपाधिसमेत हासिल गरेका थिए ।
योग साधक नेपालले वाल्मीकि विद्यापीठबाट ६ महिनासम्म योग प्राकृतिक चिकित्साको तालिम लिएका थिए । उनका थुप्रै लेख, रचना, निबन्ध, रचना, कविता विभिन्न पत्रपत्रिका, स्मारिका, बुलेटिनमा प्रकाशित छन् ।
पछिल्लो समय काठमाडौं कीर्तिपुर बस्दै आएका उनका पत्नी, २ छोराबुहारी र ४ नाति छन् । जेठा छोरा कवीन्द्र नेपाल संघीय मामिला तथा सामान्य प्रकाशन मन्त्रालयका उपसचिव हुन् भने कान्छा रवीन्द्र नेपाल क्यानडा बस्छन् ।