
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले होम आइसोलेसनमा बस्न उपयुक्त वातावरण नभएका र अक्सिजनसहितको आइसोलेसन आवश्यकता पर्ने कोभिड संक्रमित विरामीलाई काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको आइसोलेशन सेन्टरमा बस्न आग्रह गरेका छन् ।
कोभिड–१९ को रोकथाम र नियन्त्रण क्षमता अभिवृद्धिका निम्ति जनसरोकार ट्रष्ट (काठमाडौँ मोडेल अस्पताल) र हेल्पिङ्ग ह्याण्ड्स अस्पताललाई आज चार थान आइसीयु भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा सम्वोधन गर्दै यस्तो आग्रह गरेका छन् ।
‘कोभिड संक्रमण भैहाल्यो र घरमा बस्न समस्या छ भने तपाईँहरू जुन वडामा बस्नु भएको छ, त्यही वडामा सम्पर्क गर्नुहोला,’ काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘निशुल्क भोजन र अक्सिजनसहितको आइसोलसन सेन्टरमा राख्ने व्यवस्था हामी गर्छौ ।’
उनले संक्रमण भइहाल्यो भनेर बढी आत्तिने वा उपचार गर्न डराउने अवस्था भयो भने त्यसले थप जटिल बनाउने स्मरण गराए ।
उनले आफुलाई संक्रमणको शंका भयो र केही असहज भयो भने तत्काल उपचारको व्यवस्था गर्न पनि आग्रह गरे ।
‘हामी सबै मिलेर कोभिडसँगको लडाईँमा विजय प्राप्त गरौँ,’ उनले भने, ‘काठमाडौँ महानगरपालिकाले कार्यपालिकाको बैठक बसेर कोभिड संक्रमण दरलाई न्युनिकरण गर्ने र सजगता अपनाउँदा–अपनाउँदै संक्रमण भइहाल्यो भने उपचारका लागि अस्पतालसम्म पुगेपछि सहज उपचारको व्यवस्था होस भन्ने हेतूले सरकारी र सामूदायिक अस्पतालसँग सहकार्य गरेको स्मरण गराए।
‘महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रि.वि. शिक्षण अस्पताललाई १०, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताललाई आजसहित २, जनस्वास्थ्य सरोकार ट्रष्ट (काठमाडौं मोडल अस्पताल) लाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरिसकेका छौँ,’ उनले भने, ‘त्योसँगै सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने सर्तसहित क्षत्रपाटीको निशुल्क चिकित्सालयलाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गरेर सेवा प्रदान गरिरहेका छौँ । एक सय वर्ष भन्दा पनि पुरानो अस्पताल नरदेवी आर्योवेदिक अस्पताललाई पनि आइसोलेसन सेन्टरका रुपमा विकास गरेका छौँ ।’
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठले पहिलो लहर भन्दा दोस्रो लहरको कोभिडले बढी संक्रमण बढाएको भन्दै तत्काल महानगरपालिका आफैँले अस्पताल खोल्न नसक्ने अवस्था भएकाले सरकारी र सामूदायिक अस्पतालसँग सहकार्य गरेर अघि बढेको बताए । ‘कोभिड निर्मूल पार्न सबै अस्पतालमा अक्सिजनको कमी हुन नदिने र घर–घरमा पुगेर खोप लगाउने अभियान चलाउनुपर्छ,’ उनले भने ।
हेल्पिङ हेन्सका कार्यकारी प्रमुख गुप्तबहादुर श्रेष्ठले ७७ जिल्लाकै विरामी उपचार गर्न आउने अस्पतालमा महानगरपालिकाले गरेको सहयोग अतुलनीय भएको बताए । काठमाडौँ मोडल अस्पतालका कार्यकारी निर्देशक डाक्टर राजेशध्वज जोशीले काठमाडौँ महानगरपालिकाले गरेको सहयोगको सदुपयोग गर्दै धेरै भन्दा धेरै विरामीलाई सेवा दिने प्रतिवद्धता व्यक्त गरे ।