२३ जेठ २०८३, शनिबार
बजेटको प्रभाव

बजेटपछि लयमा फर्किँदै विद्युतीय सवारी व्यापार : एउटै कारको मूल्य २० लाखसम्म घट्ने !

बजेटपछि लयमा फर्किँदै विद्युतीय सवारी व्यापार : एउटै कारको मूल्य २० लाखसम्म घट्ने !

सरकारले विद्युतीय सवारी साधनको आयातमा लाग्दै आएको अन्तःशुल्क पूरै खारेज गरेको छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै (जेठ १५ गते) यस्ता सवारी साधनमा अन्तःशुल्क पूरै खारेज गर्ने घोषणा गरेका हुन् । 

बजेट वक्तव्यका क्रममा अर्थमन्त्री पौडेलले भनेका छन्, ‘विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरण मैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन विद्युतीय सवारी साधनको अयातमा अन्तःशुल्क पूरै खारेज गरी भन्सार महशुलमा समेत उल्लेख्य मात्रामा घटाएको छु ।’ 

यो बजेट नयाँ आर्थिक वर्ष शुरू भएसँगै कार्यान्वयनमा आउने छ । जसअनुसार आगामी साउनदेखि विद्युतीय सवारीसाधनहरू नेपाल भित्र्याउँदा सस्तो पर्नेछ ।

सरकारले विद्युतको आन्तरिक खपत बढाउनका लागि तथा वातावरण मैत्री यातायातको साधनको प्रयोग बढाउन विद्युतीय गाडीमा भन्सार शुल्क घटाएको हो । यसअघि चालू आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी साधनमा कर बढाएको भन्दै सर्वत्र आलोचना भएको थियो । 

सरकारले इलेक्ट्रिक सवारीसाधनमा १० प्रतिशत भन्सार शुल्क लगाउँदै आएको छ । यस्तै यस्ता सवारी साधनहरूमा सडक दस्तुर ५ प्रतिशत यथावत नै राखेको छ, भने भ्याट १३ प्रतिशत रहेको छ । 

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी साधनलाई विलाशी साधनका रूपमा व्याख्या गर्दै भन्सार महशुल वृद्धि गरेका थिए । 

यसले गर्दा चालू आर्थिक वर्षमा एउटा पनि विद्युतीय गाडी नेपाल नभित्रिएको नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार, ‘विद्युतीय गाडीमा भन्सार शुल्क बढाइएपछि आउन लागेका गाडीहरू पनि भन्सारमै अड्किए, वर्ष दिनभरी विद्युतीय गाडी नै आएनन् ।’

अघिल्ला वर्षहरूमा औसतमा वर्ष दिनमा आउने सवारी साधनको १० प्रतिशतसम्म विद्युतीय गाडी आउने गरेको दुलाल सुनाउँछन् ।

उनले भने, ‘यो प्रतिशत अत्यन्तै उच्च हो, तर एक वर्ष रोकिन पुगेको थियो ।’

आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री पौडेलले विद्युतीय गाडीलाई प्राथमिकताका साथ राखेपछि अहिले गाडी व्यवसायीहरू खुशी छन् । 

व्यवसायीहरूले गाडी आयातका लागि तयारी शुरू गरिसकेका छन् । दुलाल भन्छन्, ‘हाम्रा साथीहरूले त गाडी आयातका लागि तयारी शुरू गरिसकेका छन् ।’

सरकारको यस्तो निर्णयसँगै विद्युतीय गाडीहरूको मूल्यमा २० लाखदेखि ३० लाख रुपैयाँसम्म गिरावट आउने अध्यक्ष दुलाल बताउँछन् । 

उनले भने, ‘अब नेपालमा विद्युतीय गाडीको व्यापार फस्टाउँछ भन्ने सोचेको छु । एउटै गाडीको मूल्यमा २० लाखदेखि ३० लाखसम्मको गिरावट आउँछ ।’

पूरानै मूल्यमा नयाँ गाडी 

बजेट सार्वजनिक भएसँगै पुरानै मूल्यमा विद्युतीय गाडी दिने काम हुण्डाइको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले शुरू गरिसकेको छ । 

आफ्ना दुई नयाँ विद्युतीय कारको मूल्य परिमार्जन गर्दै कम्पनीले नयाँ मूल्य निर्धारण गरेको छ । 

हुण्डाईले आफ्नो चर्चित क्रसओधर एसयूभी कोनाको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

यसअघि यसको मूल्य ७६ लाख ९६ हजार रुपैयाँ रहेको थियो । 

यस्तै कम्पनीले आयोनिक सेडानको ५७ लाख ९६ हजार रुपैयाँ मूल्य कायम गरेको छ । यसअघि यसको मूल्य ७७ लाख ९६ हजार रहेको थियो । 

सरकारको निर्णयले उत्साहित गाडी व्यवसायीहरूले विद्युतीय गाडीको मूल्यलाई पुरानै मूल्यमा फर्काउँदैछन् ।

व्यवसायीहरूले चालू आर्थिक वर्षमा बढाएको मूल्यलाई फेरि पुरानै मूल्यमा फर्काउन लागेका हुन् । 

अध्यक्ष दुलाल भन्छन्, ‘अब विद्युतीय सवारी साधनको मूल्य पुरानै अवस्थामा फर्कन्छ । यसको मतलब कतिपय गाडी त अहिलेको भन्दा २०/३० लाख सस्तोमा किन्न पाइन्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्