
जिल्ला सहकारी संघ जिल्ला शाखाले त्रिशूली अस्पताललाई ५ विद्युतीय आईसीयू शय्या र बिरामी मनिटर उपकरण प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई आवश्यक उपकरण हस्तान्तरण गरिएको संघका सचिव प्रकाशकुमार अधिकारीले जानकारी दिए ।
पछिल्लो समय अस्पतालमा कोरोना संक्रमितका बिरामीको चाप वृद्धि हुँदै गएको छ ।
बचत तथा ऋणको सेवा पुर्याउँदै आएका सहकारीको छाता संस्था संघलाई सो कार्यका लागि ‘नेपाली इन ओकायामा जापान’ नामक संस्थाले पनि सहयोग गरेको जनाइएको छ ।
संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेको अनुसार हस्तान्तरित ती उपकरणको मूल्य १८ लाख रहेको छ ।
अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले अस्पतालमा हाल आईसीयू शय्या ११ पुगेको छ भने भेन्टिलेटर ६ जडान गरिएको छ । अस्पतालले रसुवा र धादिङका कोभिड तथा नन्कोभिड बिरामीलाई समेत सेवा दिँदै आएको छ ।
कोरोना जाँच गर्न अस्पतालको आफ्नै आरटी–पीसीआर प्रयोगशाला, अक्सिजन प्लान्ट, आईसीयू, एचडीयू र भेन्टिलेटर उपकरणको साथमा सुविधासम्पन्न भवन रहेको छ ।
पछिल्लो सयम सेवा प्रवाह उत्कृष्ट बन्दै गएको जनाइएको छ ।