
प्रेस काउन्सिल नेपालले कोभिड–१९ दोस्रो लहरको संक्रमणबाट अति प्रभावित ९ पत्रकार र परिवारलाई सहयोग उपलब्ध गराएको छ ।
काउन्सिलको मिडिया विकास कोष उपसमितिको जेठ १४ गतेको बैठकले कोरोना संक्रमण भई भेन्टिलेटर/आईसीयूमा उपचाररत ६ पत्रकार र कोरोना संक्रमणबाट ज्यान गुमाएका ३ पत्रकारका परिवारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।
काउन्सिलले तत्कालका लागि जनही २५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराएको छ ।
भेन्टिलेटरमा उपचाररत धादिङका पत्रकार सुमन अधिकारी, दोलखाका रविन्द्र गौतम (जेठ १६ गते निधन भएको) र रोल्पाका मौसम रोका मगरलाई आईसीयूमा उपचाररत मुस्ताङका पत्रकार चन्द्रेश्वर बस्ताकोटी, भोजपुरका सन्देश राई र काठमाडौंका हस्त गुरुङलाई सहयोग प्रदान गरिएको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले जानकारी दिए ।
भुसालका अनुसार मृतक पत्रकार मुगुका सुमन मल्ल, पाँचथरका एकराज भण्डारी र कास्कीका गणेश पौडेलका परिवारलाई सहयोग उपलब्ध गराइएको छ ।
यसअघि कोभिड–१९ असरबाट प्रभावित ४५ जना पत्रकारलाई लेखनवृत्ति एवं इन्टरनेट सुविधावापत सहयोग प्रदान गरिएको थियो ।