
प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले अख्तियारसँग ५ वर्षसम्म नै सोधपुछ तथा सरसल्लाह गर्ने बताएका छन् ।
रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै बालेनले सरकारी सम्पत्तिको दोहन भएको विषयमा अख्तियारसँग ५ घण्टा मात्रै नभएर निरन्तर सोधपुछ तथा सरसल्लाह गर्ने बताएका हुन् ।
‘विगतका दिन कुनै फट्याइ भएका छन् भने सरकारी सम्पत्तिको दोहन भएको छ भने अख्तियारलाई ५ घण्टा होइन ५ वर्ष नै सोधपुछ र सरसल्लाह गरिन्छ,' उनले भने, 'हाउभाउ देख्दा अलिकति अनियन्त्रित देखिएला, तर कुनै चिज अनियन्त्रित छैन । हामीले कुनै नियम मिचेका छैनौं ।’
प्रधानमन्त्री बालेनले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको स्पष्ट पार्दै ती भूभाग नेपालकै भएको प्रमाण सरकारसँग रहेको बताए ।
'हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौं, तर ब्रिटिसकालीन शासनका समयमा यससम्बन्धी कुनै प्रमाण छ भने सहयोग लिन खोजेका हौं,' उनले भने, 'हामी छिमेकीसँग आफैं कुरा गरेर सीमासम्बन्धी विषय मिलाउँछौं, हामीसँग हाम्रो भूभाग रहेको प्रमाण छ । त्यसमा आशङ्का लिनु पर्दैन ।'
आफ्नो राष्ट्रियताप्रतिको दृष्टिकोणमा कसैले पनि आशङ्का मान्नु नपर्नेमा उनको प्रष्टीकरण थियो ।