
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने कार्यक्रम घुसाएर घटिया सोच उजागर गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया जनाउँदै सांसद थापाले ढुंगा निकासी गर्ने कार्यक्रमले वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ भन्ने प्रस्ट भएको बताए ।
नेता थापाले लेखेका छन्, ‘संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ । वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ प्रस्ट भएको छ । यो ‘नीतिगत भ्रष्टाचार हो’ । आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनः छर्लङ्ग भएको छ । चुरे क्षेत्र तहसनहस पारेर तराईलाई मरभूमीकरण गर्न उद्यत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक–पटक रोकेको हो । यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्ने छौं । अदालतको आदेश, संसदीय समितिका पटक–पटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौं नै । आमजनता, सञ्चार जगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आह्वान गर्दछु ।’
यो 'नीतिगत भ्रष्टाचार हो'।आफ्ना 'यार'लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन:छर्लङ्ग भएको छ।चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो।यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ।२/३
— Gagan Thapa (@thapagk) June 2, 2021