
नेपालमा लामो समयदेखि शिक्षा, स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकार संस्था युनाइटेड मिसन टू नेपालको डोटीस्थित कलस्टरले बोगटान फुड्सिल गाउँपालिकालाई १३ लाख २५ हजार ४०३ रुपैयाँको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिकालाई हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा एन्टिजेन किट २५०, सर्जिकल मास्क ३ हजार, ग्लब्स १ हजार, स्यानिटाइजर ५ लिटर १० वटा, १० लिटर ३० वटा, १ लिटर ७५ वटा, थर्मामिटर १२, पीपीई सेट २४, नेबुलाइजर १२, केएन नाइन्टी फाइभ मास्क ४००, हस्पिटल शय्या १२, ४० केजी अक्सिजन १०, अक्सिजन कन्सन्टे«टर ५ लिटरको २ थान र फेस सिल्ड ३० थान रहेको संस्थाका टोली नेता विशालबाबु श्रेष्ठले जानकारी दिए ।
जिल्लामा दोस्रो चरणको कोभिड–१९ संक्रमणको नयाँ भेरियन्टको संक्रमण तीव्र रूपमा बढिरहेको र उपचार गर्नमा समस्या भइरहेको अवस्थामा संस्थाले स्वास्थ्य सामग्री प्रदान गरेपछि अब गाउँका नागरिकलाई उपचार गर्नमा सहज हुने गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।
यूएमएनले बोगटान फुड्सिलसँगै जिल्ला संकट व्यवस्थापन केन्द्र, बडीकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने तयारी गरिरहेको जनाइएको छ ।