
बतास फाउन्डेसनले दमौली अस्पताललाई २० लाख मूल्य बराबरको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
फाउन्डेसनका तर्फबाट मोहनकाजी बतासले दमौली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुनिल पौडेललाई मशिन हस्तान्तरण गरेका हुन् ।
अक्सिजन कन्सन्टे«टर मशिन प्राप्त भएसँगै कोरोनाका बिरामीलाई अक्सिजन दिन सहज भएको छ । अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेकाले उपचार सहज बनाउन लागि फाउन्डेसनले सो सहयोग गरेको हो ।
यसैगरी नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा दमौलीका मोहनकाजी बतासले ५ हजार सहयोग गरेका छन् । बतासले यसअघि महासंघ तनहुँ शाखाको भवन निर्माणमा समेत सहयोग गरेका थिए ।
कोषमा म्याग्दे गाउपालिका–७ निवासी श्रीभद्र आचार्यले २ हजार ५०० सहयोग गरेका छन् । कोषमा ६० हजार बढी रकम संकलन भइसकेको र सहयोग आउने क्रम जारी रहेको महासंघका अध्यक्ष उज्जवल पौडेलले बताए ।