
पार्टीको कारवाहीमा परेका एमाले नेता झलनाथ खनाल र माधव नेपाल पक्षले आज केन्द्रीय सदस्यहरूसँग छलफल गर्दैछ ।
पार्टी एकताको प्रयास सफल बन्न नसकिरहेको समयमा नेता नेपालले केन्द्रीय सदस्यहरूसँग राय लिन लागेका हुन् ।
बिहान ११ बजे पछि भर्चुअल बैठक बस्ने तयारी भएको एमाले केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले लोकान्तरलाई जानकारी दिए ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति प्रकाशित गरेर अनाधिकृत बैठक नगर्न सचेत गराएका थिए ।
‘कसरी अगाडी बढ्ने भन्ने विषयमा हाम्रो समूहमै एकमत नदेखिएपछि केन्द्रीय सदस्यहरूसँग राय लिन लाग्नु भएको हो, केन्द्रीय सदस्यहरूको रायका आधारमा हामी अगाडी बढ्छौँ’ अर्का एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।
खनाल नेपाल समूहका प्रभावशाली नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टी एकता जोगाउन भन्दै संस्थापन पक्षका नेताहरूसँग छलफल गरिरहेका छन् ।
बिहीवार नै एमाले स्थायी कमिटीको बैठक पनि बस्दैछ । बुधवार स्थगित भएको स्थायी कमिटी बैठक बिहीवार साझ ४ बजेका लागि बोलाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव तामाङले जानकारी दिए ।