काठमाडौं, २० वैशाख– मुलुकको ४० प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् ।
वर्तमान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजय गच्छदार, अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह समर्थनमा देउवाले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएका हुन् ।
नयाँ प्रधानमन्त्री चयनका लागि भोली (आइतबार) संसदमा निर्वाचन हुँदै छ । प्रधानमन्त्रीका लागि संसदको दोस्रो ठूलो दल नेकपा एमालेले आफ्नो पार्टीबाट उम्मेदवार नउठाउने निर्णय गरेको छ । अब प्रधानमन्त्रीको चुनावी मैदानमा देउवा एकल उम्मेदवार हुने छन् ।
कुनै ठूलो राजनीतिक उथलपुथल नभए मुलुकको ४० औं प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवा निर्वाचित हुने पक्का भएको छ । संसदमा हाल कायम सदस्य संख्याको बहुमत सदस्यले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने छन् ।
संसदमा अहिले संसदको सदस्य संख्या ५९३ छ । र प्रधानमन्त्री बन्न देउवालाई २९७ सांसदको समर्थन चाहिन्छ ।
प्रधानमन्त्रीका उम्मेदवार देउवाकै दल कांग्रेसका २०६ सांसद छन् । यस्तै नेकपा माओवादी केन्द्रका सांसदको संख्या ८१ छ । र १६ सांसद संख्या रहेको विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले समर्थन गर्दा देउवालाई आवश्यक बहुमत भन्दा बढी ३०३ पुग्छ ।
त्यसमा पनि ३ सांसद संख्या रहेको नेकपा संयुक्तसँगै एक–एक सांसद संख्या रहेको अखण्ड नेपाल पार्टी, समाजवादी जनता दलले पनि देउवालाई समर्थन गरेका छन् । यो सबै जोड्दा देउवालाई समर्थन गर्ने सांसदको संख्या ३०८ पुग्छ ।