३१ असार २०८३, बुधबार

एन्थोनी फाउचीका हजारौं इमेल सार्वजनिक, कोरोनाका विषयमा भ्रम र यथार्थ

जेठ २०, २०७८
एन्थोनी फाउचीका हजारौं इमेल सार्वजनिक, कोरोनाका विषयमा भ्रम र यथार्थ

अमेरिकाका शीर्ष स्वास्थ्यविद् डा एन्थोनी फाउचीका हजारौं निजी इमेलहरू सार्वजनिक गरिएका छन् । कोरोना महामारीका विषयमा आरम्भिक समयमा रहेका चिन्ता र भ्रम त्यसमा उल्लेख भएका छन् । 

८० वर्षीय फाउची अनुभवी चिकित्सक हुन् । उनले अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थमा विशेषज्ञका रूपमा सात राष्ट्रपतिको कार्यकाल बराबर काम गरिसकेका छन् । 

कोभिड–१९ विरुद्ध लड्नका लागि बनाइएको नेसनल रेस्पोन्स टीमका उनी प्रमुख अधिकारी हुन् । अमेरिकामा उनलाई बेस्सरी प्रशंसा गर्नेहरू पनि छन्, चर्को आलोचना गर्नेहरू पनि छन् । 

द वाशिङटन पोस्ट, बजफीड न्युज र सीएनएनले फ्रीडम अफ इन्फर्मेसन याक्टअन्तर्गट जनवरीदेखि जुन २०२० सम्म डा फाउचीका हजारौं निजी इमेल हात पारेका हुन् । 

तीन हजार पानाका यी इमेलमा कोरोना महामारीका आरम्भिक दिनमा अमेरिकाको हालत कस्तो थियो र त्यसबेलामा प्रशासन, मिडिया, स्वास्थ्य विभागका अधिकारी, प्रख्यात व्यक्ति तथा सामान्य अमेरिकीहरूले कसरी व्यवस्थापन गरे भन्ने कुरा उल्लेख छ । 
 

फाउची र उनका सहकर्मीहरूले महामारीका शुरूतिरका दिनमा वुहान ल्याब थ्योरीमा ध्यान दिएका थिए । यस थ्योरीअनुसार, कोरोनाभाइरस चीनको वुहानमा रहेको एक प्रयोगशालाबाट लीक भएको थियो । 

यस विवादास्पद दाबीलाई धेरैजसो विशेषज्ञहरूले पोहोर साल खारेज गरेका थिए । यस्तो हुने सम्भावना अत्यन्तै न्यून रहेको उनीहरूको भनाइ छ । 

तर केही दिनअघि अमेरिकाको बाइडन प्रशासनले वुहानमा भएको अनुसन्धानमा प्रश्न उठाएर यसमा थप अनुसन्धान गर्न गुप्तचर निकायलाई निर्देशन दिएपछि यो विषय पुनः उठेको हो । 

जनवरी २०२० मा फाउचीलाई अमेरिकाको सबभन्दा ठूलो बायोमेडिकल रिसर्च टीमका निर्देशकले इमेल पठाएका थिए । त्यसमा उनले भाइरसका केही फीचरहरू असामान्य रहेको र यसलाई मानिसले तयार पारेको बताएका थिए । त्यसपछि फाउचीले उनलाई फोनमा कुरा गरौंला भनी इमेल लेखेका थिए । 

अप्रिल २०२० मा अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थका निर्देशक फ्रान्सिस कोलिन्सले पनि यस विषयमा डा फाउचीलाई एउटा इमेल पठाएका थिए । इमेलको विषय थियो, ‘वुहान षड्यन्त्र सिद्धान्त बलियो बन्दैछ ।’ यसमा फाउचीको जवाफ पाइएन । 

गत मे महिनामा फाउचीले भाइरस प्राकृतिक रूपमा उत्पन्न भएको कुरामा आफू आश्वस्त नभएको र यसलाई गम्भीरताका साथ जाँच्नुपर्ने बताएका थिए । 

त्यस्तै मास्क लगाउने विषयमा महामारीको आरम्भमा अनेकथरी मत थिए । अमेरिका सरकारले मास्कको विषयमा आवश्यक दिशानिर्देश दिन सकेको थिएन । मानिसहरूमा यस विषयमा अनेकौं भ्रम थियो । 

फेब्रुअरी २०२० मा अमेरिकाका पूर्व स्वास्थ्यमन्त्रीसँग इमेलमा कुराकानी हुँदा फाउचीले लेखे, ‘संक्रमित व्यक्तिले अरूलाई संक्रमित नपारून् भनी मास्क लगाउने हो । संक्रमणबाट बच्न चाहनेले मास्क लगाउन पर्दैन ।’

बजारमा पाइने सामान्य मास्क प्रभावशाली छैन र यसले भाइरसलाई रोक्न सक्दैन भनेर पनि उनले लेखे । भाइरसको आकार एकदमै सानो हुनाले बजारमा पाइने मास्कलाई छेडेर त्यो भित्र पस्न सक्ने उनको भनाइ थियो । 

फाउचीले समयसँगै मास्क लगाउने विषयमा धारणा परिवर्तन गरे । तर यसबीचमा अनेकौं अनुसन्धान भए र नयाँ सूचनाका आधारमा कैयौं कुरामा बुझाइ परिवर्तन हुँदै गयो । 

अमेरिकाका उदारवादीहरूबीच डा फाउची नायक हुन् । उनका इमेल पढेर उनीप्रतिको विश्वास उदारवादीहरूमाझ झनै गहिरो बनेको छ । वैज्ञानिकहरूलाई उपलब्ध जानकारी उनले इमान्दारीका साथ सबैलाई बताएको उनीहरू बताउँछन् । 

डा फाउचीले केही कुरामा आफ्नो धारणा परिवर्तन गरेको भए पनि उनी वैज्ञानिक तथ्यमा अडिग रहेको उदारवादीहरू बताउँछन् । डोनल्ड ट्रम्पले सुनाउन चाहेको कुरा फाउचीले नभनेको उनीहरूको मत छ । 

salt training

कमेन्ट गर्नुहोस्