
बागलुङ, २० जेठ - ढोरपाटन नगरपालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका छन् ।
तीन दलित तथा अल्पसङ्ख्यक र पाँच महिला सदस्यका लागि भएको चुनावबाट नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी बनेका हुन् । दलित तथा अल्पसङ्ख्यकतर्फ गोकुल शेरचन, थमबहादुर छन्त्याल र नरबहादुर सुनार विजयी हुनुभएको निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिनुभयो ।
महिला सदस्यतर्फ ताराकुमारी पुन, छवि विक, शान्ति विक, बेलकुमारी छन्त्याल र धनिमला विक निर्वाचित हुनुभएको छ । यस्तै काठेखोला गाउँपालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट संयुक्त वाम मोर्चा–राप्रपाका उम्मेदवार विजयी बनेका छन् । कार्यपालिका सदस्यमा अल्पसङ्ख्यक तथा दलितका तर्फबाट टीका सङ्गम विक र हेमलाल विक विजयी हुनुभएको छ ।
महिला सदस्यतर्फ चित्रकुमारी विक, जमुना कँडेल, सुन्तली विक र नैनकला खड्का विजयी हुनुभएको निर्वाचन अधिकृत धु्रव गिरीले जानकारी दिनुभयो । राप्रपासहित अन्य वामपन्थी दलले संयुक्त उम्मेदवारी दिए पनि नेपाली काँग्रेस एक्लैले उम्मेदवारी दिएको थियो । महिला, दलित र अल्पसङ्ख्यकको प्रतिनिधित्व सुनिश्चित भएसँगै काठेखोला गाउँपालिकाको कार्यपालिका र गाउँसभाले पूर्णता पाएको छ ।