
पार्टीबाट कारवाहीमा परेका नेकपा एमालेका नेता झलनाथ खनाल–माधव नेपाल पक्षका भ्रातृ संगठनले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर क्रियाशील नगराए पार्टी पुनर्गठन गरेर अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् ।
व्यवस्था र संविधानको रक्षा गर्दै पार्टीलाई जोगाउने अभिभारा काँधमा आएको उनीहरूले उल्लेख गरेका छन् ।
खनाल–नेपाल पक्षमा रहेका विभिन्न पेशागत संगठनका तर्फबाट १७ जनाले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउन माग गरेका हुन् ।
उनीहरूले प्रतिनिधि सभा विघटन गर्ने कदमको विरोध जनाएका छन् । यसअघि संस्थापन पक्षका भ्रातृ संगठनले दुई दिनअघि पार्टी एकता बचाउन भन्दै यस्तै संयुक्त विज्ञप्ति प्रकाशित गरेका थिए ।
‘पार्टी, संगठन र पेशागत संगठनका सबै संरचनालाई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील गराइयोस्, यदि त्यसो नगरिए पार्टी र आन्दोलन विसर्जनको बाटोमा जान सक्छ ।
यदि त्यस्तो अवस्था आए हामी त्यसो हुन दिने छैनौं,’ भ्रातृ संगठनहरूका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको कठोर लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गौरवमय पार्टी र आन्दोलनको रक्षाका लागि पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको झण्डा उठाउनु पर्नेछ ।’
विज्ञप्तिमा अखिल नेपाल किसान महासंघका बलराम बाँस्कोटा, महिला संघकी जयन्ती राई, अनेरास्ववियुका सुदेश पराजुली, नेपाल उत्पीडित जातीय मुक्ति समाजका गणेश विक, युवा संघका नरेश शाही, भूमिहीन सुकुम्बासी संगठनका रामप्रित पासवान लगायतले हस्ताक्षर गरेका छन् ।


