
नेपाल उद्योग–वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाबाट प्रभावित व्यवसायलाई पुनरुत्थान गर्न गत वर्ष जस्तै गरी राष्ट्र बैंकले पुनर्कर्जा र ब्याजदरमा सम्बोधन गर्नुपर्ने बताएका छन् ।
बुधवार उद्योग सङ्गठन मोरङको आयोजनामा भएको बजेटको कार्यान्वयनसम्बन्धी भर्चुअल कार्यक्रममा उनले कोरोना भाइरसको दोस्रो चपेटाका कारण व्यवसायी गत वर्षभन्दा बढी निरास भएको समेत बताएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले भने, ‘गत वर्ष पनि हामी निरास नै थियौँ तर बजेटपछि राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिका कारण व्यवसाय तुरुन्त तङ्ग्रिन सक्यो। यस वर्ष पनि गत वर्षकै जस्तो गरी पुनर्तालिकीकरण, पुनर्कर्जा र ब्याजदर आदिका हाम्रा समस्या र गुनासालाई यस पटक पनि सम्बोधन गरिनुपर्छ ।’
गोल्छाले कोभिडको दोस्रो लहरले ग्रस्त उद्योगलाई यस पटक पनि बैंकले वाच लिस्टमा राख्न नहुने बताए।