
कोरोना महामारीको दोस्रो लहरसँगै जारी भएको निषेधाज्ञाका कारण करीब ६८ प्रतिशत उद्योगधन्दा प्रभावित भएका छन् ।
निजी उद्योग तथा व्यवसायहरूको छाता संगठनको पछिल्लो तथ्यांकअनुसार गत वैशाख १६ गतेदेखि हालसम्म करीब ६८ प्रतिशत उद्योगधन्दा प्रभावित भएका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरसहित मुलुकका अधिकांश जिल्लाहरूमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । विभिन्न चरणमा निषेधाज्ञा जारी हुँदा खाद्यान्न तथा अत्यावश्यकीय सेवाबाहेक अरू सबै क्षेत्र ठप्प छन् ।
निषेधाज्ञाका कारण ६८ प्रतिशत अर्थात् करीब ६ लाख ५० हजार उद्योग व्यवसाय प्रभावित भएको महासंघको तथ्यांक छ ।
महासंघका अनुसार यस अवधिमा प्रत्येक दिन निजी क्षेत्रबाट हुने कारोबारमध्ये करीब ५ अर्ब ६० लाख ट्रेडिङ होल्डिङमा रहेको छ ।
यस अवधिमा यी उद्योगधन्दामा आश्रित २१ लाख ५० हजार जनशक्ति प्रभावित भएका छन् ।
निषेधाज्ञा लम्बिँदै गएमा रोजगारदाताहरू थप प्रभावित हुने महासंघको श्रम तथा रोजगार हेर्ने वरिष्ठ विशेषज्ञ हंशराज पाण्डे बताउँछन् ।
‘अहिलेसम्मलाई कटौती वा धेरै प्रभावित भएको अवस्था त छैन, तर अब निषेधाज्ञा निरन्तर लम्बिँदै गएमा अवस्था थप जटिल हुनसक्छ,’ लोकान्तरसँग पाण्डेले भने ।
काठमाडौं उपत्यकामा शुक्रवारदेखि निर्माणका काममा केही खुकुलो भएसँगै केही सकारात्मक आशा भने गर्न सकिने उनको भनाइ छ ।
उनले भने, ‘निषेधाज्ञाका बीच निर्माण कार्यलाई सुचारू राख्दा पनि त्यो क्षेत्रमा काम गर्ने श्रमिकलाई केही सहज हुन्छ ।’
कुन प्रदेशमा कति उद्योग प्रभावित ?
तथ्यांक अनुसार, प्रदेश १ मा सबैभन्दा धेरै ८३ प्रतिशत उद्योग व्यवसायहरू प्रभावित भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४६ प्रतिशत उद्योग व्यवसाय प्रभावित छन् ।
विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण उद्योगधन्दाहरू ठप्प भएको महासंघको ठहर छ ।
यस अवधिमा खाद्यान्न तथा अत्यावश्यक वस्तुका उद्योगहरू केही मात्रामा सञ्चालनमा आएको भएपनि पर्यटन, मनोरञ्जन उद्योग पूर्ण ठप्प रहेको छ ।
यस्तै निर्माण उद्योगमा यात्रा अवरोधका कारण पूर्ण रूपमा कर्मचारी तथा मजदूर परिचालन गरेर काम गर्न नपाएको महासंघले जनाएको छ ।
यसबीचमा भारतबाट आएका कतिपय मजदूरहरू स्वदेश फर्किएका छन् भने नेपालभित्रैका पनि आ–आफ्नो घर गएकाले सीमित मात्रै कर्मचारीबाट उद्योग सञ्चालन गर्नुपरेको निजी क्षेत्रका व्यवसायीहरू बताउँछन् ।
महासंघअन्तर्गत प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले निषेधाज्ञामा राज्यको नीति एकातिर काम अर्कातिर हुँदा उद्योगधन्दा बढी प्रभावित भएको गुनासो गरे ।
लोकान्तरसँगको कुराकानीमा अध्यक्ष ढकालले भने, ‘नीतिमा खाद्यान्न उद्योग खुला राख्ने र निश्चित समयमा बिक्रीको व्यवस्था मिलाउने भनिएको छ, तर सोही समयमै बिक्रीका लागि वा ढुवानीका लागि निस्किए विनाकारण प्रहरीहरूले सताउँछन्, चेकजाँच भन्छन्, रोकिदिन्छन् ।’
उनले खाद्यान्न उद्योग तथा पसल पनि राम्रोसँग चल्न नपाएको भन्दै राज्यले कोठामा थुनेर मात्रै राख्दा व्यवसाय प्रभावित भएको बताए ।
उनले भने, ‘केही समय त हो, तर यतिका लामो समयसम्म निषेधाज्ञा भनेर घरमा थुन्दा घाटामाथि घाटा भइरहेको छ ।’
अध्यक्ष ढकालले उद्योगधन्दामा कर्मचारीहरू पनि कटौती गर्नुपर्ने अवस्था रहेको सुनाए । ‘कतिपय त घर टाढा भएर पनि आउने संयन्त्र नहुँदा उद्योगमा आउन पाएका छैनन्, यहाँ त बैंक पनि राम्रोसँग खुल्दैनन्, अनि कसरी उद्योग चल्छ ?’
प्रदेश १ पछि गण्डकी प्रदेशका उद्योगधन्दाहरू प्रभावित छन् । महासंघका अनुसार, यस प्रदेशमा करीब ७५ प्रतिशत उद्योग तथा व्यवसायहरू प्रभावित छन् ।
यस्तै प्रदेश २ मा ७० प्रतिशत, बागमती प्रदेशमा ६९ प्रतिशत, लुम्बिनीमा ६५.५ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ५८ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ४६ प्रतिशत उद्योगहरू प्रभावित छन् ।
कस्तो थियो अघिल्लो वर्षको बन्दाबन्दीको प्रभाव ?
अघिल्लो वर्ष २०७६ चैत ११ गतेदेखि सरकारले बन्दाबन्दी (लकडाउन) लगाएको थियो । सो लकडाउन २०७७ असार १ गतेदेखि केही शुरू भएको थियो ।
यद्यपि आर्थिक क्रियाकलापहरू पूर्ण रूपमा सञ्चालनमा आउन भने निकै समय लागेको थियो ।
नेपाल राष्ट्र बैंकले २०७७ भदौ २७ गते कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको थियो ।
सो सर्वेक्षणमा ४ प्रतिशत ६१ प्रतिशत उद्योग तथा व्यवसायहरू पूर्णरूपमा बन्द रहेको पाइएको थियो ।
यस्तै ४ प्रतिशत उद्योग व्यवसाय मात्रै पूर्ण रूपमा सञ्चालनमा रहेको पाइएको थियो भने ३५ प्रतिशत उद्योग/व्यवसाय आंशिक रूपमा सञ्चालनमा रहेको पाइएको थियो ।
बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरूमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन/कारोबार घटेको बताएको प्रतिवेदनमा उल्लेख छ ।