
लमजुङ जिल्लाको राइनास नगरपालिका–८ भैंसीखोलामा ग१च ५६९४ नम्बरको ट्रयाक्टर पल्टिँदा बुवाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
शुक्रवार बिहान जिल्लाको दोर्दी गाउँपालिका–१ बेलघारीबाट राइनास तीनपिप्ले जाँदै गरेको ट्रयाक्टर पल्टिँदा राइनास वडा नम्बर ४ का ६० वर्षीय रामबहादुर कुमाल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
उनका अनुसार २८ वर्षीय एकबहादुर कुमाल घाइते भएका छन् । उनीहरू बुवाछोरा रहेका प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक छोरा रहेका थिए ।
प्रहरीका अनुसार ट्रयाक्टर अनियन्त्रित हुँदा पल्टिएर बुवाछोरा नै च्यापिँदा बुवाको मृत्यु भएको थियो । छोराको हातमा चोट लागेको छ ।
शव परीक्षण गर्न तथा घाइतेको उपचार गर्नका लागि बेंसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पताल लमजुङमा ल्याइएको थियो ।