
सुदूरपश्चिम प्रदेशसभाको आज शुरु भएको बजेट अधिवेशनमा नेकपा एमालेका प्रदेशसभा सदस्य एवं निवर्तमान मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्रीको राजीनामा माग गरेका छन् । बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर बोहराले नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परेकाले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे ।
समर्थन फिर्तापछि प्रदेशसभामा आफूहरु प्रतिपक्षी दलका सदस्य भइसकेकोले बस्ने सिटको व्यवस्थापन मिलाउनसमेत ध्यानाकर्षण समेत गराए । बोहरा मुख्यमन्त्री भट्टको नेतृत्वको सरकारका निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।
आन्तरिक विवादकै बीच मुख्यमन्त्रीले केही दिनअघि मात्र मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । प्रदेशसभामा नेकपा एमाले संसदीय दलमा माधव नेपाल पक्षको बहुमत रहेको छ ।