
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कोरोना संक्रमणको तेस्रो, चौथो लहरको सम्भावित खतरा र त्यसको जोखिम क्षेत्रमा रहेकाको सुरक्षालगायतका विषयमा विज्ञहरुसँग छलफल अगाडि बढाएको छ ।
खासगरी अब आउने लहरले बालबालिकालाई प्रभावित बनाउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले पत्राचार गरेपछि यहाँका बालरोग विशेषज्ञहरुसँग उपमहानगरले छलफल र परामर्श गरेको हो ।
महामारीको तेस्रो लहरको पूर्वतयारी स्वरुप बालरोग विशेषज्ञहरुसँग सम्भावित जोखिम न्यूनिकरण र विद्यमान जनशक्तिका बारेमा छलफल गरिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।
लुम्बिनी प्रादेशिक अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज (युसीएमएस), क्रिमसन अस्पताल, देवदह मेडिकल कलेज, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका बालरोग विशेषज्ञ तथा प्रतिनिधिहरुसँग उपमहानगरमा विशेष छलफल भएको हो ।
सार्वजनिक, निजी तथा सामुदायिक अस्पतालहरुलाई तयारी अवस्थामा रहन आग्रह गर्नुका साथै तीनै तहका सरकारबाट आवश्यक सहयोगका बारेमा विज्ञहरुसँगै विशेष छलफल भएको प्रमुख सुवेदीले बताए ।
सो छलफलमा सहभागी विशेषज्ञहरुले आउने लहरले बालबालिकालाई नै लक्षित गरेर सताउने भन्ने वैज्ञानिक आधार नभएपनि खोपको प्रयाप्तता नहुँदासम्म जुनसुकै उमेर समूहलाई पनि जोखिम कायमै रहेको बताएका थिए ।
विशेषज्ञहरु डा राजु काफ्ले, डा.सन्तोष पोखरेल, डा नेत्रबहादुर राना, डा अजय श्रीवास्तव तथा डा हीम श्रेष्ठलगायतका विभिन्न अस्पतालमा कार्यरत बालरोग विशेषज्ञहरुले पूर्वतयारीमा आफुहरु सतर्क र सजग भएर लागेको तर, साधन स्रोत र जनशक्तिको व्यवस्थापनमा तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
बालरोग सँग सम्बन्धित विशेषज्ञहरुको सञ्जाल नेपाल पेडियाट्रिक सोसाइटीमार्फत महामारी विरुद्ध बालबालिकालाई जोगाउने विषयमा विशेष पोट्रोकल समेत तयार भएको उक्त सञ्जालमा समेत आवद्ध रहनु भएका डाक्टर राजु कफ्लेले बताए ।
बालबालिकामा एन्टीबोडी र भाइरसँग जुध्ने क्षमता फरक खालको हुने भएकाले पनि संक्रमितले चाँडै परास्त गर्न सकेको पाइएको विशेषज्ञ डा सन्तोष पोखरेलले बताए ।
उपमहानगरका स्वास्थ्य जनस्वास्थ्य अधिकृत उमादेवी थापाले हालसम्म उपमहानगरमा रहेका बालबालिकामा संक्रमण नदेखिएको र केही बालबालिकामा ज्वारो आउने समस्या देखिएपनि एकदुई दिनमै ठिक भएको भन्दै रिपोर्ट आएको बताइन् ।
नेपालमा तेस्रो र चौथो लहर आउदा बालबालिकाहरुलाई जोखिम हुने भन्दै स्वास्थ्य मन्त्रालयले केही दिन अघि सबै अस्पताललाई अक्सिजनको व्यवस्थापन सहित २० प्रतिशत शैया बालबालिकाको लागि उपयुक्त हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको थियो ।