०१ साउन २०८३, शुक्रबार

चीनले तिब्बत कब्जा गर्नु अक्षम्य पाप भएको विश्व हिन्दू परिषद्को दाबी

जेठ २४, २०७८
चीनले तिब्बत कब्जा गर्नु अक्षम्य पाप भएको विश्व हिन्दू परिषद्को दाबी

भारतले तिब्बत स्वायत्त क्षेत्रलाई स्वतन्त्र मुलुकका रूपमा पहिचान गर्दैन र एक चीन नीतिमा ऊ अडिग छ । 

तर पोहोर साल लद्दाखमा भएको भिडन्तपछि भारतमा तिब्बती स्वतन्त्रताका विषयमा माहोल बन्न थालेको छ । 

यसैबीच विश्व हिन्दू परिषद्ले तिब्बतलाई चीनले कब्जा गर्नु क्षमा दिन नसकिने पाप भएको दाबी गरेको छ । तिब्बतको निर्वासित सरकारका नवनिर्वाचित प्रमुख पेन्पा छिरिङलाई आइतवार बधाईपत्र दिने क्रममा परिषद्को यो भनाइ आएको हो । 

‘दुर्व्यवहार तथा विश्वासघातमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले तिब्बतमाथि सैन्य अतिक्रमण गरेर उपनिवेश बनाएको छ । पार्टीलाई प्रकृति र जीवनप्रति कुनै सम्मान छैन र तिब्बतको बौद्ध पहिचानलाई यो विस्तारवादी, उपनिवेशवादी तथा विषाक्त शक्तिले पूरै ध्वस्त पार्न खोज्दैछ,’ पत्रमा लेखिएको छ । 

त्यसमा परिषद्का महासचिव मिलन्द परान्दे र उपमहासचिव स्वामी विज्ञानानन्दले हस्ताक्षर गरेका छन् ।

विश्व हिन्दू परिषद् सत्तारूढ भारतीय जनता पार्टीको विचारधारात्मक सहयोगी हो । 

‘माओ च तुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले दशौं लाख मानिसलाई पीडित बनायो र उनको क्रूर शासनमा डेढ करोडदेखि साढे ५ करोडसम्म मानिस मारिएको अनुमान छ । पार्टीले ८७ हजार तिब्बतीको हत्या गरेको थियो भने एक लाख जति तिब्बतीहरू भारत, नेपाल र भुटानमा शरणार्थी बनेर बस्न बाध्य छन्,’ परिषद्ले लेख्यो । 

सन् १९५९ मा दलाई लामासँगै हजारौं तिब्बती शरणार्थीहरू भारत निर्वासित भएका थिए । उनीहरूले हिमाचल प्रदेशको धर्मशालामा निर्वासित सरकार चलाइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्