कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै सदन अवरुद्ध गरेको छ ।
प्रदेशसभाको आजदेखि शुरु बजेट अधिवेशनको प्रारम्भमै एमालेले तत्काल मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदनका काम कारबाही अघि बढ्न नदिने अडान राखेको हो ।
बैठक शुरु हुनासाथ दलका नेता यामलाल कँडेलले तीन वटै तहका अदालतले दोषी करार गरिसकेका व्यक्ति मन्त्रीका रुपमा झण्डा हल्लाउँदै सदनमा प्रवेश गर्नु आपत्तिजनक भएको बताए ।
सभामुख राजबहादुर शाहीले गम्भीर विषय हुँदाहुँदै पनि यसबारे सरकारले आफ्नो धारणा प्रस्तुत गर्ने भएकाले सदनको काम कारबाही अघि बढ्न दिन आग्रह गरे । तर अवरोध जारी रहेपछि बैठक बस्न सकेन ।
प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो दुई बजे बस्नेछ ।