०४ असार २०८३, बिहीबार

वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

जेठ २६, २०७८
वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
प्रतिकात्मक तस्वीर

कोभिड–१९ संक्रमणदर उच्च भएका बेला रोकथाम तथा नियन्त्रणका लागि स्याङ्जाको वालिङ नगरपालिकालाई मंगलवार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

आनन्द फाउन्डेसन नेपालको संयोजन र ताइवान एलजेएम बुद्धिस्ट सोसाइटीको सहयोगमा नगरपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्य सामग्री गरी १० लाख रुपैयाँभन्दा बढीको सहयोग प्राप्त भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

कन्सन्ट्रेटर, पीपीइ सेट, एन्टिजेन किट, फेसशिल्ड, अक्सिजन सेट, सर्जिकल मास्क, पञ्जासँगै समाजसेवी डा. पवमान सुवेदीको व्यक्तिगत योगदानसहित १० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नगरपालिकालाई मंगलवार हस्तान्तरण गरेको छ ।

‘महामारीका रूपमा फैलिएको कोभिड रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकासँगै विभिन्न संघसंस्था तथा व्यक्तिले आफूखुशी सहयोग जुटाउनुभएको छ,’ नगर प्रमुख खाँणले भने, ‘महामारी नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराइदिएर यहाँका नागरिकलाई उपचारमा सहजता भएको छ ।’

विभिन्न संघसंस्था तथा व्यक्तिहरुले कोभिड रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री र नगद सहयोग गरिरहेका नगर प्रमुख खाँणले बताए । दाताहरूले सहयोग गरेको प्रयोजनका आधारमा रकम खर्च गर्दै आएको बताउँदै नगर प्रमुख खाँणले भने, ‘यो महामारीका समयमा विभिन्न संघसंस्था तथा व्यक्तिगतरूपमा स्वास्थ्य सामग्री उपलब्ध गराउने, नगद सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुप्रति आभार व्यक्त गर्दछौं ।’

नगरपालिकाले गह्रौं प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा बिरामीलाई निःशुल्क उपचार, खाना तथा खाजाको व्यवस्थासमेत मिलाएको छ । नगरपालिकाले २ स्वास्थ्यकर्मीको टोलीलाई औषधिसहित परीक्षणका लागि गाउँगाउँमा खटाएको छ ।

आवश्यकता हेरी गाउँमै पुगेर पनि एन्टिजेन परीक्षण गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्