०४ असार २०८३, बिहीबार

व्यावसायिक किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण

जेठ २६, २०७८
व्यावसायिक किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण
प्रतिकात्मक तस्वीर

कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित कास्कीको मादी गाउँपालिकाले व्यावसायिक किसानलाई हाते ट्रयाक्टर वितरण गरेको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षको कृषितर्फको स्वीकृत कार्यक्रमअन्तर्गत पहिलो चरणमा मंगलवार कृषकसँगको ५० प्रतिशत लागत साझेदारीमा अनुदानमा २४ वटा हाते ट्रयाक्टर वितरण गरेको हो ।

गाउँपालिकाको १ देखि १२ वडाका कृषक, कृषक समूह तथा कृषि व्यवसायमा संलग्न संघसंस्थाबाट प्रस्ताव आह्वान गरिएकामा ६१ जनाले माग गरेका थिए ।

पहिलो चरणमा ‘सात हर्सपावर’का २४ वटा ट्रयाक्टर कृषकलाई उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । प्रतिट्रयाक्टर ५४ हजार रुपैयाँ मूल्यमा कृषकहरूले ५० प्रतिशत साझेदारी गरेका छन् ।

अध्यक्ष गुरुङका अनुसार कृषकको व्यावसायिक योजनाको मूल्यांकनका आधारमा थप १७ कृषकलाई दोस्रो चरणमा ट्रयाक्टर वितरणको योजना छ । जमिन खनजोतका लागि गोरु पाल्न कृषकले झन्झट मान्ने र लागत बढी हुँदा पछिल्लो समय कृषकहरू हाते ट्रयाक्टरतर्फ आकर्षित छन् ।

गाउँपालिकाले कृषिको विकासलाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष गुरुङले भने, ‘कृषि व्यवसायलाई समयानुकूल परिर्वतन गर्दै यान्त्रिकीकरण र आधुनिकीकरणका माध्यमबाट अधिकतम उत्पादन बढाउँदै रोजगारी सिर्जना र स्वरोजगार अभिवृद्धिको योजना छ । समृृद्ध मादी निर्माणका लागि कृषि, पर्यटन, जलस्रोत, वन, पूर्वाधारसहित समन्यायिक समृद्धिलाई जोड दिएका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्