चीनको एक शीर्ष विश्वविद्यालयमा भर्नाका लागि गरिएको विज्ञापनले महिलालाई वस्तुको रूपमा प्रस्तुत गरेको भन्दै हंगामा मच्चिएको छ ।
नानजिङ विश्वविद्यालयले चीनको सामाजिक सञ्जाल वीबोमा ६ जना विद्यार्थीहरूले साइनबोर्ड बोकेको विज्ञापन देखाएको थियो ।
तीमध्ये दुईवटा साइनबोर्डको भाषा महिलाविरोधी सेक्सिस्ट भएको भन्दै मानिसहरू रिसाएका हुन् ।
एक सुन्दर महिला विद्यार्थीले बोकेको साइनबोर्डमा यस्तो लेखिएको थियो, ‘तपाईं मसँग यस विश्वविद्यालयमा बिहानदेखि रातिसम्म समय बिताउन चाहनुहुन्छ ?’
अनि अर्की विद्यार्थीको साइनबोर्डको भाषा पनि विवादित बन्यो । त्यसमा लेखिएको थियो, ‘तपाईं मलाई आफ्नो जवानीको एक हिस्सा बनाउन चाहनुहुन्न ?’
अन्य साइनबोर्डको भाषा चाहिँ विवादित थिएनन् । एउटामा लेखिएको थियो, ‘तपाईं यस विश्वविद्यालयको इमान्दार, मेहनती र महत्त्वाकांक्षी विद्यार्थी बन्न चाहनुहुन्न ?’
युवकहरूलाई यौनमार्फत लोभ्याउन खोज्ने आशय साइनबोर्डको भाषामा झल्किएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको थियो ।
विवाद बढेपछि नानजिङ विश्वविद्यालयले विज्ञापन डिलिट गरिदियो । केही मानिसले चाहिँ यो विज्ञापनमा चाहिनेभन्दा बढी नै प्रतिक्रिया आएको र यसलाई गम्भीरतापूर्वक लिन पर्दैनथियो भने ।