
पर्यटकीय क्षेत्र लाङ्टाङको स्वास्थ्य चौकीमा कोभिड–१९ संक्रमणको प्रारम्भिक परीक्षण शुरू भएको छ ।
हिमपातको चिसोपनले सामान्य रूघाखोकी लाग्नासाथ कोरोना संक्रमणकै आशंका बढिरहेको वर्तमान अवस्थामा गोसाइँकुण्ड गाउँपालिकाले गाउँघरमै एन्टिजेन परीक्षण गराउने व्यवस्था मिलाएपछि लाङ्टाङका वासिन्दामा उत्साह बढेको छ ।
एन्टिजेन परीक्षणका लागि आफूले धुञ्चेस्थित जिल्ला अस्पतालबाट तालिम लिएको जनाउँदै लाङ्टाङ स्वास्थ्य चौकीका प्रमुख खम्बु बोहोराले कुनै पनि प्राथमिक उपचारमा आफू २४ सै घण्टा तयार रहेको बताए ।
उच्च क्षेत्रमा बसोबास गर्ने हिमाली वासिन्दा एवं आगन्तुक पर्यटकलाई पर्नसक्ने स्वास्थ्य समस्या स्थानीयस्तरमै समाधान गर्न लाङ्टाङ स्वास्थ्य चौकीबाट एन्टिजेन प्रविधिद्वारा कोरोना परीक्षणका साथै अक्सिजन समेतको व्यवस्थापन भएको छ ।