
गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध बनेको विपक्षी गठबन्धनले आफ्नो पद जोगाउन मुख्यमन्त्रीले हदैसम्मको क्रियाकलाप गरेको आरोप लगाएका छन् ।
मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने प्रदेश सभाको बैठकमा बिहीवार विपक्षी गठबन्धनले अप्ठ्यारो पर्दावित्तिकै प्रदेश सभाको अधिवेशन अन्त्य गर्नेजस्तो काम गरेको आरोप लगाएका हुन् ।
प्रदेश सभामा प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रको सिको गर्दै प्रदेशमा पनि संविधान च्यात्ने काम गरेको आरोप लगाए ।
‘हिउँदे अधिवेशन प्रक्रिया अगाडि बढेको अवस्थामा आशंकाकै आधारमा हाउसकै अन्त्य गरियो, निर्वाचित सरकार जहिले पनि हाउसको सामना गर्छ । विश्वासको मत लिनुस् शुभकामना छ, पुग्दैन वैकल्पिक सरकार बन्छ,’ पोखरेलले भने ।
प्रदेशको अधिवेशन बोलाएबापत प्रदेश प्रमुख अमिक शेरचनलाई हटाइएको उनले आरोप लगाए ।
माओवादी केन्द्रका हरिबहादुर चुमानले मुख्यमन्त्री गुरुङ प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रमा गरेको असंवैधानिक कदमको साक्षी बनेको आरोप लगाए ।
राष्ट्रिय जनमोर्चाकी पियारी थापाले असंवैधानिक कदम काम गर्नेलाई सहयोग गर्न नसक्ने बताइन् ।
त्यसअघि सभाको बैठकको शुरूमै विश्वासको मत माग्दै मुख्यमन्त्री गुरुङले वैकल्पिक सरकार बन्ने सम्भावना नभएकाले आफूलाई मत दिन आग्रह गरे ।