१२ असार २०८३, शुक्रबार

पुरानो बदला लिन हत्या गरेपछि ५ जना पक्राउ

पुरानो बदला लिन हत्या गरेपछि ५ जना पक्राउ

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ मनौराका ३५ वर्षीय युवा महेन्द्र यादवको हत्यामा संलग्न रहेको आरोपमा रूपन्देही प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ का २२ वर्षीय बलजित पासी, सोही स्थानका ३० वर्षीय दुर्गेश पासवान, २४ वर्षीय राकेश यादव, २० वर्षीय सञ्जय पासी र २३ वर्षीय सर्वजीत विश्वकर्मा रहेका छन् । 

जेठ २३ गते लुम्बिनी–४ खेतनजिकै यादवको हत्या गरेको अवस्थामा शव फेला परेको थियो । प्रहरीका अनुसार घटनाबारे सूचना प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक रवीन्द्र महतको कमाण्डमा खटिएको टोली घटनास्थल पुग्दा मृतकको टाउको, छाती, घाटी र गुप्ताङ्गमा धारिलो हतियार प्रहार गरी घाउचोट लागि अनुहार र टाउको समेतको भाग रगतले लत्पतिएको अवस्थामा शव फेला परेको थियो ।

घटनाको अनुसन्धान गर्ने क्रममा पक्राउ परेका आरोपीले पुरानो रिसइबीको बदला लिने सोचका कारण योजनावद्ध रूपले महेन्द्रलाई उनकै गाउँमा हत्या गरी फालेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।

चन्दका अनुसार यादवको जेठ २२ गते राति साढे १२ बजे हत्या भएको अनुसन्धानबाट पुष्टि भएको छ । 

जेठ २५ गते मंगलवार नियन्त्रणमा लिइएका ५ जना आरोपीलाई बुधवार रुपन्देही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको चन्दले जानकारी दिए ।

हत्यामा प्रयोग भएको धारिलो हतियार (फलामको दाउ) १ थान, पानी तान्ने चापाकलको ह्यान्डर (हत्ता) १ थान र हत्यामा प्रयोग भएको हरियो बाँसको घारा १ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्