
काठमाडौं उपत्यकाबासीले झण्डै २ महिना मेलम्चीको पानी नपाउने भएका छन् ।
मेलम्ची खानेपानी विकास समितिले आगामी असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो ।
समितिले बिहीवार सूचना जारी गर्दै मेलम्ची नदी, सिन्धु, ग्याल्थुम लगायतका क्षेत्रमा र बाग्मती नदीमा समेत पानीको बहाब बढ्न सक्ने भएकाले स्थानीयबासीलाई सचेत रहन अनुरोध गरेको छ । ती नदी किनारमा नजाने र जानै परेमा विशेष सावधानी अपनाएर जान भनिएको छ ।
सुरुङ खाली गर्न झण्डै १६ दिन समेत गरी सुरुङ निरीक्षणको अवधि झण्डै २ महिना लाग्नेछ । सुरुङ निरीक्षणसँगै परीक्षण, सुधार र पुनः पानी भर्नका लागि समय लाग्नेछ । वर्षा पहिले नै सुरुङ खाली गरेर निरीक्षण र आवश्यक सुधार गर्नुपर्ने छ ।
आयोजनाले गत फागुन १० गते मेलम्ची नदीको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरू गरेको थियो । परीक्षण शुरू भएको १२ दिनपछि सुन्दरीजलमा पानी आइपुगेको थियो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गत वैशाख ६ देखि नै उपत्यकामा मेलम्चीको पानी वितरण शुरू गरेको थियो ।