
काठमाडौं, २१ जेठ — बेलायतको राजधानी लन्डनमा शनिवार राति भएको आक्रमणमा सातजनाको मृत्यु भएको छ । लन्डन ब्रिजमा हिँडिरहेका पैदलयात्रुमाथि तीनजनाले भ्यान जोतेर अनि त्यसपछि रेस्टुराँमा रमाइलो गरिरहेका मानिसलाई छुरा घोपेर हत्या गरेका हुन् ।

प्रहरीले यसलाई आतंकवादी आक्रमण घोषणा गरेको छ । एउटा सेतो भ्यानले लन्डन ब्रिजमा कैयौं मानिसलाई आक्रमण गरेको खबर आएपछि सशस्त्र प्रहरी र एम्बुलेन्स बोलाइएका थिए ।
उक्त क्षेत्र र नजिकैका रेलवे स्टेसनहरू बन्द गरिएका थिए । भ्यान सडकपेटीमा चढेर कैयौं मानिसहरूसँग ठोकिन पुगेको थियो ।
पाँचदेखि ६ मानिसलाई यसरी भ्यानले हिर्काएको थियो । त्यसपछि त्यो भ्यान नजिकैको बोरो मार्केटतिर गयो । त्यहाँ तीनजना आरोपितहरू बाहिर निस्के र भीडमा पसेर मानिसहरूलाई जथाभावी छुराले हान्न थाले ।
पबमा बसिरहेका मानिसलाई आक्रमणकारीले तारो बनाएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
एक प्रत्यक्षदर्शी गेरार्डले बीबीसीलाई बताए, ‘उनीहरू दौडिँदै यो अल्लाहका लागि हो भन्दै थिए । उनीहरूले एक किशोरीलाई दशदेखि १५ चोटिसम्म छुरा हाने ।
आफूले उनीहरूतर्फ बोतल, कुर्सी र अरू कुरा फ्याँकेर रोक्ने कोशिश गरेको उनले बताए ।
मेट्रोपोलिटन प्रहरीले सातजनाको मृत्यु भएको पुष्टि गरेको छ भने ४८ जनालाई अस्पतालमा उपचार गराइरहेको बतायो ।
तीन आरोपितहरूलाई प्रहरीले खबर पाएको आठ मिनेटभित्र गोली प्रहार गरी मारेको थियो ।
एक प्रहरी अधिकारी यस क्रममा घाइते भएको बेलायती ट्रान्सपोर्ट प्रहरीले जानकारी दियो ।
आक्रमणमा परी दुई फ्रान्सेली नागरिक र दुई अस्ट्रेलियाली नागरिक घाइते भएको उक्त देशका अधिकारीहरूले बताएका छन् ।
उक्त घटनाको विश्वव्यापी रूपमा निन्दा भएको छ ।
प्रधानमन्त्री टेरिजा मेले सरकारको कोब्रा आपतकालीन बैठकको अध्यक्षता गरिरहेकी छन् ।
बीबीसीबाट