१५ असार २०८३, सोमबार

कित्ता फेरेका मनाङ्गेलाई पृथ्वीसुव्वाले भने– धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भनेको यही हो

कित्ता फेरेका मनाङ्गेलाई पृथ्वीसुव्वाले भने– धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भनेको यही हो

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले दीपक मनाङ्गेले आफूलाई धोखा दिएको बताएका छन् ।

उनले भने, ‘राजनीतिक एउटा निष्ठाको विषय हो ।  आदर्श पनि हो । तर निष्ठा र आदर्शको सीमा कसैले नाघ्नु हुँदैन ।’

मुख्यमन्त्री निवास छाड्नुअघि पोखरामा पत्रकारसँग कुराकानी गर्दै उनले आफैँले सहयोग गरेर मनाङ्गेलाई राजनीतिमा ल्याएकोमा अहिलेको क्रियाकलापले योभन्दा ठूलो धोखा अरु नहुने बताए ।  

‘रत्नाकर डाँकु पनि वेदव्यास बन्न सक्छ भने चुतिया डाँका सरदार थियो, चीनमा । ऊ लालसेनाको कमाण्डर बन्न सक्यो भने हाम्रो दीपक मनाङ्गे शुद्ध किन बन्दैन ? भनी मैले त्यसलाई सघााएको हो । मार्गप्रशस्त गरेको हुँ,’ नेकपा एमाले संसदीय दलका नेता समेत रहेका गुरुङले भने, ‘तर कहिलेकहिले के हुन्छ भने सबै डाँकुहरु बाल्मिकी हुँदोरहेनछ ।’

मनाङमा चुनाव जिताउन सहयोग गरेको, प्रदेशसभा सदस्यको शपथ दिलाउन भूमिका खेलेको स्मरण गर्दै उनले भने, ‘मैले सहयोग नगरेको भए सांसद पद जान्थ्यो । धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भनेको यही हो ।’ 

मनाङ जिल्लाबाट गण्डकी प्रदेश सदस्यमा निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङ्गेलाई पृथ्वीसुव्वाले युवा तथा खेलकुद मन्त्री बनाइदिएका थिए । गत वैशाख १६ मा मन्त्री बनेकोमा २६ वैशाखमा मुख्यमन्त्रीको राजीनामासँगै मन्त्री पद गुमेको थियो । यद्यपि वैशाख २९ मा दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त पृथ्वीसुव्वाले मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रीमा दोहो¥याएका थिए । 

तर, संविधानको धारा १६८ (४) बमोजिम संसदमा ३० दिनभित्र विश्वासको मत लिने बेलामा मनाङ्गे संसदमै नआई विपक्षी गठबन्धनलाई सघाउने सार्वजनिक अभिव्यक्ति दिएका थिए । अन्ततः काँग्रेस सहित विपक्षी गठबन्धनले कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा सरकार बनाउन मनाङ्गे निर्णायक शक्ति बनेर उदाए ।

उनले शनिबार नै पोखरेल नेतृत्वको सरकारमा विनाविभागीय मन्त्रीको शपथ खाइसकेका छन् । मनाङ्गेले अब युवा तथा खेलकुद मन्त्री नआइ शक्तिशाली मन्त्रालयको दाबी गरिरहेको काँग्रेस सांसद बताउँछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्