पेट्रोलियम ढुवानीमा संलग्न ट्रक तथा ट्यांकरका चालक र सहचालकलाई भोलि बुधवारदेखि कोरोना विरुद्धको खोप लगाइने भएको छ ।
नेपाल आयल निगम, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम चालक संघका प्रतिनिधिबीच मंगलवार भएको छलफलपछि भोलि बुधवारदेखि निगमबाट जारी परिचयपत्रका आधारमा खोप लगाउने सहमति भएको हो ।
निगमको प्रादेशिक कार्यालय थानकोटबाट सञ्चालित ट्यांकर चालक र सहचालकलाई खोप लगाउने सहमति भएको निगमले जनाएको छ ।
चालक र सहचालकलाई खोप लगाउने सहमति भएसँगै निगमको अमलेखगञ्ज र थानकोटस्थित डिपोबाट आज मंगलवारदेखि नै डिपो अपरेसनको कार्य शुरू भएको छ ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघले थानकोट र अमलेखगञ्जमा खोपका कारण पेट्रोलियम पदार्थको लोड अनलोड तथा बिक्री वितरणमा गर्दै आएको बन्दको कार्यक्रम आजैदेखि फिर्ता भएको छ ।
सरकारले सञ्चालन गरेको खोप कार्यक्रमअन्तर्गत निगमको १ नम्बर प्रादेशिक कार्यालय विराटनगर, लुम्बिनी प्रादेशिक कार्यालय, भलवारी, भैरहवा, नेपालगञ्ज, चारआलीमा ट्रक तथा ट्यांकर चालक, सहचालकलाई खोप लगाउने काम सम्पन्न भइसकेको छ ।
निगमको जनकपुर, पोखरा तथा अमलेखगञ्ज डिपोमा अहिले खोप लगाउने कार्यक्रम भइरहेको छ । एलपी ग्यास उद्योगी, ग्यास बिक्रेता, पेट्रोलियम व्यवसायी, कर्मचारी तथा मजदुरलाई क्रमिक रूपमा खोप लगाउँदै जाने सहमति भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।