
अविरल वर्षाले तिनाउ नदीमा भिषण बाढी आएको छ ।
तिनाउ नदीको जल सतहले खतराको तह पार गरिसकेको छ ।
गणेशनगरको पक्की पुलको माथिल्लो तहसम्म पानी आएको छ । तिनाउ नदी किनारमा रहेका १४ हजार घर जोखिममा छन् ।
तिनाउको पुलमुनिदेखि सोह्र छत्तीय नहरमुनि बनेका हजारौं घर जोखिममा छन् । बाढीले बुटवल तथा रुपन्देहीका ९ स्थानीय तहमा जोखिम बढेको छ ।
बुटवल उपमहागरपालिकाका प्रमुख शिवराज सुवेदीले २०३६ वर्षयताकै तिनाउमा ठूलो बाढी आएको बताए । नगर प्रमुख सुवेदीले आइपर्न सक्ने विपद्लाई ध्यानमा राखेर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई तयारी अवस्थामा बस्न अनुरोध गरेका छन् ।
तिनाउ नदीको सिद्धबाबा क्षेत्रमा पहिरो झरेर ५ मिनेट तिनाउ नदी थुनियो भने नदीले ठूलो क्षति पुर्याउन सक्ने भन्दै सर्तक रहन प्रहरीले आग्रह गरेको छ ।

पाल्पाको दोभानमा जल सतहले खतराको तह नाघिसकेको छ । जल सतह ५.४ मिटर पुगेको छ, यो खतराको घण्टी हो ।
ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतितसिंह राठौरले पानीको सतहले खतराको अवस्था पार गरेकाले सर्तकता अपनाउन जोखिमपूर्ण बस्तीलाई आग्रह गरिएको लोकान्तरलाई बताए ।
तिनाउ नदी अतिक्रमण गरेर नदीको किनारैमा घर टहर बनेका छन् । अहिले पाल्पा र रुपन्देहीमा भिषण वर्षा भइरहेको छ ।