२७ जेठ २०८३, बुधबार

सांसदलाई बजेट बाँड्ने कार्यक्रम बागमतीमा खारेज, सुदूरपश्चिममा कायमै

असार २, २०७८
सांसदलाई बजेट बाँड्ने कार्यक्रम बागमतीमा खारेज, सुदूरपश्चिममा कायमै

कोभिड–१९ महामारीबाट अर्थतन्त्रमा परेको प्रभाव लगायतलाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ खारेज गरेको छ । 

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आर्थिक वर्ष २०७८/७९ का लागि मंगलवार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै सो कार्यक्रम खारेज गरेको घोषणा गरे ।

प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमको नाममा विनियोजन हुने बजेटको चरम दुरुपयोग हुने गरेको गुनासो आउने गरेको थियो ।

गत वर्ष सरकारले सो कार्यक्रममार्फत प्रदेशसभा सदस्यले ३ करोड रुपैयाँका दरले खर्च गर्न पाउने गरी बजेट विनियोजन गरेको थियो । 

संघीय सरकारको सांसदमार्फत खर्च हुने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमसँग मिल्दोजुल्दो हुने गरी सरकारले ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ ल्याइएको थियो ।

सरकारले सो कार्यक्रम खारेज गरेर कोभिड–१९ को प्रभाव न्यूनीकरण र जनताको स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले ‘प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवद्र्धन तथा कोभिड पुनःस्थापना साझेदारी कार्यक्रम’ कार्यान्वयन गरिने मन्त्री ढुंगेलले जानकारी दिए ।

उनले भने, ‘यो कार्यक्रममार्फत भौतिक पूर्वाधार निर्माणलगायत स्वास्थ्य पूर्वाधार संरचना र उपकरण खरिदजस्ता कोभिड—१९ को प्रभाव न्यूनीकरण गर्ने प्रकृतिका आर्थिक पुनःस्थापनाका कार्यक्रमहरू सञ्चालन गर्न रु २ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छु ।’ 

यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिएको छ । केन्द्र सरकारले हटाएको तथा प्रदेश सरकारहरूबाट समेत खारेज गर्न आवाज उठिरहेको कार्यक्रमलाई सुदूरपश्चिम प्रदेशले निरन्तरता दिएको हो । 

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले मंगलवार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को  बजेटमा  कार्यक्रम कायम राखिएको हो ।  

सरकारले प्रदेश पूर्वाधार विकास कार्यक्रमका लागि प्रदेशमा प्रत्यक्षतर्फ ३२ जना प्रदेशसभा सदस्यका लागि ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्