नगरपालिकाबाट घाँसदेखि राँगोसम्म अनुदानमा

प्रतिकात्मक तस्वीर

बागलुङको गलकोट नगरपालिकाले किसानलाई अनुदानमा घाँस र फलफूलका बिरुवा वितरण गरेको छ ।

विभिन्न प्रजातिका फलफूल, डाले र भुइँ घाँसका गरी झण्डै ४९ हजार बिरुवा बाँडिएको कृषि तथा पशु शाखाका प्रमुख हरिदत्त सुवेदीले जानकारी दिए ।


Advertisement

उनका अनुसार अनुदानमा बिरुवा पाउनेमा २०० जति व्यावसायिक कृषि तथा पशुपालन फार्म छन् । मागका आधारमा अन्य किसानलाई पनि बिरुवा उपलब्ध गराइएको छ ।

फलफूल र घाँसका बिरुवामा ४० प्रतिशत अनुदान दिइएको प्रमुख सुवेदीले बताए । ११ हजार सुन्तला, ७ हजार कागती, ६ हजार किम्बु लगायत र २५ हजार विभिन्न जातका भूइँ घाँसका बिरुवा वितरण गरिएको हो ।

गलकोटलाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित अनुदान कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । बिरुवादेखि कृषि औजार, उपकरणमा समेत नगरपालिकाले किसानलाई अनुदान दिँदै आएको छ ।

ताराखोला गाउँपालिकाले पनि ‘फलफूल दशक’ कार्यक्रमअन्तर्गत किसानलाई फलफूल खेतीमा अनुदान दिएको छ । ६०० किसानलाई फलफूल खेतीमा व्यावसायिक बनाउने उद्देश्य लिइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए ।

उनका अनुसार फुलफूल खेतीका लागि संघ सरकारबाट ७ लाख, गाउँपालिकाको ७ लाख र बाँकी किसानको लगानी परेको छ । किसानले विभिन्न ठाउँमा गरी यही वर्ष ६ हजार ८०० ओखर, १ हजार ६०० किवी र ५०० बदामका बिरुवा लगाएका छन् ।

७५० हेक्टरमा ओखरखेती गरिएको अध्यक्ष घर्तीले जानकारी दिए । टर्कीबाट ल्याइएका दाँते ओखरका कलमी बिरुवा २ हजार ८०० र नेपालमै खरिद गरिएको ४ हजार बिजु बिरुवा किसानलाई वितरण गरिएको हो ।

टर्कीबाट ल्याउँदा ५५० रुपैयाँ मूल्य परेको ओखरको कलमी बिरुवा किसानलाई ५० प्रतिशत अनुदानमा दिइएको हो । नेपालकै बिजु बिरुवा किसानले ७५ रुपैयाँमा पाएका थिए । ओखरसँगै किवी र बदामका बिरुवा पनि किसानलाई अनुदानमा दिइएको हो ।

कमेन्ट गर्नुहोस्