
नारायणी नदीको जल सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ ।
नदीको सतह मंगलवार राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव १ करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो ।
नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन शुरू गरिएको बताए ।
उनका अनुसार सन् १९७४ अगस्ट ५ मा नारायणीको जलस्तर १० दशमलव १ मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो ।
सोही १० दशमलव १ मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो । सो विन्दुको रेकर्ड बुधवार राति तोडिएको उनले जानकारी दिए । रायले भने, ‘सन् १९६२ यताकै सबैभन्दा बढी बुधवार राति मापन गरिएको छ ।’
यसबीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह ९ दशमलव ६ मिटर रहेको उनले जानकारी दिए ।
सन् १९६३ देखि हालसम्मको तथ्यांकलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो ।
नारायणी नदीको खतराको तह ८ मिटर र बहाव ९ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह ७ दशमलव ३ मिटर र ८ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ ।