०१ असार २०८३, सोमबार

सडक बगेपछि ट्राफिक प्रहरीको अपिल : ‘अवस्था एकदमै जोखिमपूर्ण छ, यात्रा नगर्नुहोस्’

सडक बगेपछि ट्राफिक प्रहरीको अपिल : ‘अवस्था एकदमै जोखिमपूर्ण छ, यात्रा नगर्नुहोस्’

अविरल वर्षासँगै ठाउँठाउँमा झरेका पहिरोले लुम्बिनी प्रदेशका धेरै सडक मंगलवार रातिदेखि अवरुद्ध भएका छन् ।

मंगलबार दिउँसोदेखि पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ सडक मंगलवार बिहानदेखि अवरुद्ध भएको छ ।

रुपन्देहीदेखि देवदह चरङ्गेमा कल्भर्ट बगाउँदा बन्द भएको सडक अझै खुल्न सकेको छैन । जसले गर्दा मालबाहक गाडी अलपत्र छन् । निर्माणाधीन सडकमा अहिले गाडीको लामो लाइन लागेको छ । 

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डका विभिन्न ठाउँमा पहिरो झरेको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ कालीमाटीमा मंगलवार साँझदेखि खसेको पहिरो हटाउन सकिएको छैन । 

पाल्पाको तानसेन–८ गौडेपुलमा बाढीले सडक बगाएको छ । डुम्रे खोलाको बहाव बढेको र माथिबाट खसेको पहिरोले सडक जगैबाट बगेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए । तानसेन–५ जरेपिपलमा पनि पहिरो खस्दा तानसेन तम्घास सडक बन्द छ । 

पाल्पाकै रिब्दीकोट गाउँपालिका–३ हार्थोकमा पनि पहिरो झरेको छ । रिब्दीकोट–२ मा पनि पहिरो झर्दा गुल्मीबाट पाल्पा–बुटवल आउनेजाने सवारीसाधन बाटोमै अलपत्र छन् ।

पाल्पाको आर्यभञ्जाङ–रामपुर सडक पनि अवरुद्ध छ । पाल्पाको राम्दीमै पहिरो खस्दा स्याङ्जा, वालिङ, पोखरा सडक पनि अवरुद्ध छ । 

कलिलवस्तुको गोरुसिङ्गे, अर्घाखाँचीको सन्धिखर्क सडक पनि अवरुद्ध छ । प्युठान–भालुवाङ सडकको खहरे खोलामा पहिरो खस्दा सडक खण्ड पनि अवरुद्ध भएको डीएसपी पाण्डेले लोकान्तरलाई जानकारी दिए ।

पाण्डेले भने, ‘मानवीय क्षेत्र भएको सूचना आएको छैन । धेरै सडक अवरुद्ध छन् । यस्तो बेला यात्रा नगर्दा राम्रो हुन्छ ।’

अहिले पनि ठूलो पानी परिरहेको छ । अन्य पहाडी जिल्लाका ग्रामीण सडकहरू पनि अवरुद्ध भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्