
गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिनका लागि संसद सचिवालयमा सूचना दर्ता भइसकेको सरकार प्रवक्ता कुमार खड्काले जानकारी दिए ।
विश्वासको मत लिनभन्दा कम्तीमा २ दिनअघि संसदमा जानकारी गराउनुपर्ने संवैधानिक प्रावधान छ ।
संविधानको धारा १६८(५) बमोजिम गत शनिवार मात्र कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । नियुक्तिको ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ ।
बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत छिट्टै लिन लागिएको बताइएको छ । स्रोतका अनुसार उनले असार ४ गतेमै विश्वासको मत लिने छन् ।
सरकारले मंगलवार मात्रै आगामी आवको बजेट सार्वजनिक गरेको छ । अघिल्लो दिन हतारहतारमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि मुख्यमन्त्रीबाट स्वतः पदमुक्त भएका थिए । नयाँ मुख्यमन्त्रीको रूपमा नियुक्त पोखरेलले नियुक्तिकै दिन ५ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए । जसमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहित स्वतन्त्रबाट १–१ जनालाई विना विभागीय मन्त्री नियुक्त गरिएको छ ।
भागबण्डा नमिल्दा गण्डकीमा मन्त्रिमण्डल विस्तार अड्किएको छ भने नियुक्त मन्त्रीहरूले पनि पदभार ग्रहण गरेका छैनन् ।