
पछिल्ला केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका १२ जिल्लामा बाढी तथा पहिरोको प्रभाव परेको छ ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले दिएको जानकारी अनुसार हालसम्म ४ जिल्लामा १/१ गरी कूल ४ जनाको मृत्यु भएको छ ।
बाजुरा, सिन्धुपाल्चोक, पाल्पा र डोटीमा १/१ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । बाढी पहिरोमा ७ जना घाइते तथा ७७ वटा घर पूर्णरूपमा तथा २६ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
‘अहिले देशका विभिन्न स्थानबाट क्षतिको तथ्यांक आई नै रहेको छ, पछि फरक पनि पर्न सक्छ,’ गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव दाहालले भने ।
गृहको तथ्यांक अनुसार पाल्पामा १ जनाको मृत्यु भएको छ । मृतकको नाम खुलेको छैन । पाल्पामा १ घर पूर्णरूपले क्षतिग्रस्त भएको छ ।
बाजुरामा १ जनाको मृत्यु र १ जना बेपत्ता हुनुका साथै २ वटा घरमा पूर्ण क्षति पुगेको छ । गोर्खामा बाढीबाट १ जना बेपत्ता भएका छन् । मनाङमा ५३ वटा घर पूर्णरूपले तथा २६ घरमा आंशिक क्षति भएको विवरण प्राप्त भएको दाहालले बताए । मनाङमा एउटा बेलिब्रिज बगेको छ भने प्रभावितका लागि हेलिकप्टरमार्फत राहतका सामग्री पठाउने प्रयास गरिए पनि खराब मौसमका कारण पुर्याउन नसकिएको उनले बताए ।
सिन्धुपाल्चोक जिल्लामा बाढी तथा पहिरोका कारण १ जनाको मृत्यु हुनुका साथै ७ जना बेपत्ता तथा ६ जना घाइते भएका छन् । सिन्धुपाल्चोकमा पूर्णरूपमा १६ घरमा क्षति भएको छ भने पक्की पुल २ वटा र झोलुङ्गे पुल ६ वटा बगेका उनले बताए ।
बाढीमा फसेका ४६ जनालाई उद्धार गरिएको र घाइते भएका ६ जनालाई उपचारको लागि सिन्धुपाल्चोकबाट हेलिकप्टरमार्फत बीएन्डबी अस्पताल ललितपुर ल्याइएको दाहालले बताए । सिन्धुपाल्चोकमा अहिले पनि उद्धार कार्य जारी छ ।
बाढी प्रभावितका लागि त्रिपाल २५० र टेन्ट १०० र स्लीपिङ बेड ५० थान पठाइएको उनले बताए । प्युठानमा १ जना बेपत्ता भएका छन् । पाल्पामा १ जनाको मृत्यु भएको छ । स्याङ्जामा १ जना घाइते भएका छन् । गोरखामा ४ वटा घरमा पूर्णरूपमा क्षति भएको तथ्यांक आएको उनले बताए ।
लमजुङमा २ वटा घर पूर्णरूपमा क्षतिग्रस्त हुनुका साथै एउटा मन्दिर र भवन बगाएको उनले बताए । दाङमा राप्ती नदीको टापुको बीचमा भैंसी चराउन गएका ४ जनालाई उद्धार गरिएको छ ।
डोटीमा १ जनाको पहिरोबाट मृत्यु भएको छ भने जुम्लामा पहिरोबाट २ जना घाइते भएका छन् ।