२२ जेठ २०८३, शुक्रबार

विपद् व्यवस्थापन समितिले गर्‍यो पूर्व सावधानी अपनाउन आग्रह

असार ३, २०७८
विपद् व्यवस्थापन समितिले गर्‍यो पूर्व सावधानी अपनाउन आग्रह

भारी वर्षाका कारण पहिरो जानेक्रम शुरू भइसकेकाले कुनै स्थानको यात्रा गर्नुपर्दा पूर्व सावधानी अपनाउन स्थानीयलाई आग्रह गरिएको छ ।

निरन्तर वर्षा हुँदा राजमार्ग अवरूद्व हुन थालेको, साना ठाडो खोल्साहरूबाट पानी झर्न थालेपछि त्रिशूली नदीमा पानीको सतह बढ्न थालेको तथा ठाउँठाउँमा ससाना पहिरो समेत जान थालेका कारण सुरक्षित स्थानमा बसोबास गर्न र खोला आसपासको क्षेत्रमा नजान जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले स्थानीयलाई आग्रह गरेको हो । 

पैदल मार्गका भिरालो ठाउँमा ढुंगा समेत झर्न थालेकाले अत्यावश्यक कामबाहेक पैदल यात्रा नगर्न र यात्रा गर्नुपरेमा साथीका साथमा होसियारपूर्वक यात्रा गर्न समेत अनुरोध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद ढकालका अनुसार भारी वर्षाले राम्चे–स्याफ्रु खण्डको मूलखर्क, धुञ्चे त्रिशूली खोला, सानुभार्खु, याङयाङका साथै स्याफ्रु–टिमुरे खण्डको मेदाङफुलुङ समेतका स्थानमा पहिरोका कारण अवरूद्व राजमार्ग तत्काल खुलाइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसमेतका सुरक्षा निकायको जनशक्ति एवं निर्माणाधीन रसुवागढी तथा लाङ्टाङ एण्ड भोटेकोशी हाइड्रोपावरको डोजर सहयोगले राजमार्गको अवरोध हटाइएको छ ।

स्याफ्रुबेँसीको भोटेकोशी पुलजनिक याङयाङ क्षेत्रको राजमार्ग विस्तार भइरहेकाले चीनबाट आयात भएका मालसामग्री बोक्ने मालवाहक कन्टेनरको आवागमन सहज पार्न स्थानीय प्रशासनले सडक विस्तार आयोजनालाई आग्रह गरिसकेको छ । वर्षायामको समयमा पासाङल्हामु राजमार्ग निर्वाध सञ्चालन गराउन कम्तीमा ३ वटा डोजर तैनाथका लागि स्थानीय प्रशासनको तर्फबाट डिभिजन सडक कार्यालय नुवाकोटलाई अनुरोध गरिसकिएको प्रजिअ ढकालले जानकारी दिए ।
       
विक्रम संवत् २०७२ सालको भूकम्पपश्चात हाकुको गोगनेबाट विस्थापित परिवारलाई अस्थायी बसोबास गराइएको उत्तरगया गाउँपालिका–५ खाल्टेबगरको बस्ती भने जोखिममा रहेको छ । खाल्टेबगर क्षेत्रमा ३२७ घर परिवारको बसोबास छ । विस्थापितका अगुवा छेकु लामाले त्रिशूली नदीको किनारमा बसोबास गर्ने व्यक्ति नदी बढेको बेला रातभर जाग्राम बस्नुपरेको बताए ।

वर्षायाममा नदीको डर तथा हिउँदमा हावाहुरीले बसोबासका लागि बनाइएको जस्ता टहरा उडाउने समस्या बढ्दै गएको बताइएको छ । पछिल्लो समय नदीको बहाव केही घटिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्